मौसममा सुधार आएसँगै बाजुराको जनजीवन सामान्यतर्फ
आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा नियमित
काठमाडौँ, असोज १२ । केही दिनदेखि लगातार परेको वर्षापछि मौसममा सुधार आएसँगै बाजुराको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबारदेखि मौसममा आंशिक सुधार देखिन थालेकामा आज आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा नियमित हुन थालेका छन् ।
लगातारको वर्षाका कारण प्रभावित बनेको लामो तथा छोटो दूरीको यातायात सेवा पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण अवरुद्ध भएका केही ग्रामीण सडकमा समेत सवारीसाधन सञ्चालन हुन थालेका छन् । जिल्लाको प्रमुख साँफे–मार्तडी सडकखण्डमा पहिरो पन्छाएपछि आइतबारदेखि नै यातायात सेवा पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसममा सुधार आएसँगै जिल्लाका शैक्षिक संस्थासमेत आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । वर्षाका कारण केही दिन प्रभावित भएका बजार तथा सरकारी कार्यालयका सेवा पनि सामान्य अवस्थामा फर्किन थालेका छन् ।
वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएका कृषि कार्यसमेत पुनः सुरु भएका छन् । विशेषगरी धानबाली काट्ने तथा अन्य खेतबारीका काममा किसान व्यस्त हुन थालेका छन् । स्थानीय वीरबहादुर बुढाका अनुसार लगातारको वर्षाले रोकिएको धान काट्ने काम मौसममा सुधार आएपछि पुनः सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा क्रमिक सुधार आएसँगै जिल्लाको जनजीवन पनि सामान्य बन्दै गएको बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात सेवा आइतबारदेखि नै सञ्चालनमा आएका छन् ।
लगातारको वर्षाका कारण सडक तथा दैनिक जनजीवन प्रभावित भए पनि मौसममा सुधार आएपछि जिल्लाका अधिकांश गतिविधि पूर्ववत् अवस्थामा फर्किन थालेका छन् । स्थानीय प्रशासनले भने सडक तथा अन्य पूर्वाधारको अवस्थालाई ध्यानमा राख्दै यातायात सञ्चालन भइरहेको जनाएको छ ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ जनामध्ये थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो
