चार दिनको लगातार वर्षपछि देशभरका राजमार्ग र सहायक सडकमा अवरोध, यस्तो छ देशभरको अवस्था
काठमाडौं, १२ असोज । चार दिनको लगातारको अविरल वर्षा रोकिएको छ । तर, त्यहि वर्षका कारण आएको बाढी र पहिरोका कारण अहिले पनि मुलुकभरी नै नागरिक सास्ती खेप्न बाध्य छन् । अविरल वर्षाकै कारण देशका देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन्। जसका कारण आवत–जावतमा समस्या भएको छ । बाढी र पहिरोको जोखिमसँगै धेरै जिल्लाहरूमा अहिले रात्रकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । केही राजमार्ग र सडक खण्डहरुमा भने वैकल्पिक मार्गको प्रयोग गरिएको यातायात विभाग र प्रहरीबाट सूचना प्राप्त भएको छ ।
पहिरोका कारण कान्तिलोकपथको सडक पूर्णरपमा अवरोध भएको छ । पाङ्दुर र टार्कुचेको पहिरोका कारण अवरोध भएको हो । त्यसैगरी कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुर जिल्लामा मध्यपहाडी तथा सिद्धिचरण लोकमार्गमा साँझदेखि बिहानसम्म सवारी साधन आवतजावतमा रोक लगाइएको छ। नुवाकोटको टोखा– छहरे सडक खण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको छ। केही समय अघि भोटेकोशी बाढीले तहसनहस बनाएको रसुवा पनि यो पटक समेत चपेटामा परेको छ । रसुवाको उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा नदी कटान र बाढीका कारण पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको मदन भण्डारी राजमार्ग अन्तर्गत माडीचौर सडक खण्डमा उच्च जोखिम रहेकाले सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
रसुवा र नुवाकोट जोड्ने राजमार्गसमेत बन्द भएको छ । काठमाडौँबाट टोखा, छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ, कालिाकास्थान हुँदै स्याफ्रुबेँसीसम्म पुग्ने एक लेनको कच्ची वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ ।
यो पटक गण्डकी प्रदेशका मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा सबै भन्दा क्षति भएको छ । ती जिल्लाहरुको अवस्था पनि दयनीय बनेको छ । त्यहाँ सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मनाङको बेँसीसहर– खाङसार सडक, पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गको पर्वत खण्ड र कास्की, मुस्ताङ तथा म्याग्दीका ग्रामीण सडकहरूमा रातको समयमा गाडी चलाउन निषेध गरिएको छ।
बागमती प्रदेशको चितवन र धादिङमा निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा अर्को सूचना नभएसम्मका लागि यातायात पूर्ण रूपमा बन्द गरिएको छ। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर र पानीधारामा ठूला ढुङ्गासहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।
मकवानपुरमा कान्ति लोकपथ र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ हुँदै सवारी सञ्चालनका लागि निश्चित समय तालिका तोकिएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यासबाहेक १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ।
सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा बाढी पहिरोको जोखिमका कारण बीपी र अरनिाको राजमार्गमा रात्रकालीन आवतजावतमा रोक लगाइएको छ। काभ्रेको चारसयबेँसी, गिम्दीबेँसी तथा धुलिखेलको पकुचामा ठूलो पहिरो खस्दा बीपी र अरनिाको राजमार्ग पूर्ण रूपमा ठप्प बनेका छन्।
अन्य जिल्तातर्फ ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको रुद्रवेणी–वामीटक्सार, रिडी(तमघास र कालिगण्डकी करिडोर पहिरोका कारण बन्द छन्। बागलुङको मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर, रोल्पाको सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्ग, म्याग्दीको बेँसी(जोमसोम, मकवानपुरको भिमफेदी– फाखेल, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी (पूर्व) को कालिगण्डकी करिडोर, दार्चुलाको महाकाली राजमार्ग, पाल्पा र स्याङ्जाको सिद्धार्थ राजमार्ग, ललितपुरको कान्तिलोकपथ, लमजुङको बेँसीसहर– मनाङ सडक र तनहुँको पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो र पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
दाङको तुलसीपुर(घोराही सडक खण्ड अन्तर्गत ग्वारखोलाको पुरानो पुल मुनिको माटो खस्न गई पुल पूर्ण रूपमा बन्द भएको छ। डोटी जिल्लामा निरन्तरको वर्षाका कारण जिल्ला प्रशासन कार्यालयले २४ घण्टाका लागि सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ। सडक विभाग र सुरक्षा निकायहरू अवरुद्ध राजमार्ग खुलाउन र यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाउन निरन्तर खटिरहेका छन्।
