नारायणी नदीको पुलमुनि अड्किएको राइनो पानीजहाज (क्रुज) हटाउने तयारी
काठमाडौं, १२ असोज । नारायणी नदीको पुलमुनि अड्किएको राइनो पानीजहाज (क्रुज) हटाउने तयारी आज बिहानैदेखि पुनः सुरु गरिएको छ। पुललाई क्षति नपुग्ने गरी क्रुज सुरक्षित रूपमा निकाल्न प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको छ। पूर्वी नवलपरासी गैडाकोट नगरपालिका– २ बोटे टोलबाट होटल रिभर क्राउनको पानीजहाज (क्रुज) नारायणी नदीको पानिको बहावले बगाएर नारायणी नदीको पुलमा पूर्वी नवलपरासी तर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको अबस्थामा रहेको थियो ।
उक्त स्थानमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण बाट सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ,सशस्त्र प्रहरी बल नेपाल ३१ गुल्म पूर्वी नवलपरासीबाट संयुक्त टोली आवश्यक उद्धार सामाग्री सहित खटिएको छ सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र अधिकारीले जानकारी दिनुभयो । प्राविधिकहरूसँगको छलफलपछि क्रुज निकाल्ने तयारी गरिएको हो।
क्रुज निकाल्न क्रेनसमेत प्रयोग गर्ने तयारी गरिएको छ। क्रेन अड्किएको स्थानसम्म पुर्याउन आइतबार रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरी बाटो बनाइएको थियो। क्रुज निकाल्न दुईवटा विकल्पमा प्राविधिक तयारी भइरहेको छ। पहिलो विकल्पमा सिंगो क्रुजलाई तानेर नदीको सुरक्षित किनारतर्फ ल्याउने र सम्भव नभए दोस्रो विकल्पका रूपमा क्रुजलाई काटेर टुक्रा–टुक्रा गरी निकाल्ने तयारी गरिएको छ ।
