इन्टरनेटको सहायताबाट पाल्पाकाे रामपुरमा बङ्गुरपालन
पाल्पा, ३ साउन । पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उहाँले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाउनुभएको छ ।
पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभएको हो । विभिन्न पेसा, व्यावसायको खोजीमा रहनुभएका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उहाँ बताउनुहुन्छ । “व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।
कक्षा ७ सम्मको अध्ययन गर्नुभएका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गर्नुभएको हो । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उहाँ बताउनुुहुन्छ । तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उहाँको भनाइ छ ।
सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउनुहुन्छ । यस व्यवसायमा उहाँकी श्रीमती यममाया सारुले साथ दिँदै आउनुभएको छ । श्रीमान्श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लाग्नुभएको छ । अहिले उहाँको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् ।
सारुको दिनचर्या यतिबेला बङ्गुरको रेखदेखमा बित्ने गरेको छ । घरमा उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ । एकवटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारु बताउनुहुन्छ । उहाँले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी बेच्नुहुन्छ । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारुले बताउनुभयो ।
रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रुपमा पाल्नुभएको हो । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु छ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उहाँको भनाइ छ । ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उहाँ बताउनुहुन्छ ।
हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ । हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन् । बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ–नयाँ कुराको खोजअनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ ।