देशका ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, आवश्यक सतर्कता अपनाउन बाढीविद्को आग्रह

काठमाडौँ, ३० असार । अविरल वर्षाका कारण बुधबार मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सातै प्रदेशका साना नदी तथा खोलाहरूमा बहाव तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आवश्यक छ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपासका ३९ जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यसैगरी, गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्लाहरूमा पनि नदी तथा खोलाहरूमा बहाव बढेर बाढीको सम्भावना रहेको विभागले जनाएको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार दुई दिन सातै प्रदेशका साना नदी तथा खोल्साहरूमा बहाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्। उनले नदी तटीय क्षेत्र, होचा भू-भाग र पहाडी जिल्लाका जोखिमयुक्त बस्तीहरूमा बस्ने सर्वसाधारणलाई नदी किनार आसपास नजान र आवश्यक पूर्वसतर्कता अपनाउन विशेष अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *