लगातार चार दिनको गिरावटपछि शेयर बजारमा सामान्य सुधार, ८ अर्ब ४१ करोडको कारोबार
काठमाडौँ, ३० असार । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा मंगलबार भने सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.११ अङ्कले बढेर २ हजार ५७६.२९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ अङ्क, फ्लोट इन्डेक्स ०.३२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अङ्कले बढेका छन्।
परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको बजारमा मंगलबार ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर कुल ५३ हजार ८५४ पटकको कारोबारमा खरिद–बिक्री भएका छन्। बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ऋणपत्र (डिबेन्चर) हरूको ठुलो परिमाणमा कारोबार भएकाले कुल कारोबार रकम बढ्न पुगेको हो।
यस दिन ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ को मूल्य सबैभन्दा बढी १०.२२ प्रतिशतले बढेको छ। त्यस्तै, ‘साङ्ग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को मूल्य करिब १० प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यता, ‘७ प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०९०’ को मूल्य भने सबैभन्दा बढी ९.६८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शीर्ष १० मध्ये ९ वटा स्थान ऋणपत्रले ओगटेका छन्। सबैभन्दा बढी ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ को ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ को ३९ करोड रुपैयाँ भन्दा बढी, ‘७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर’ को साढे ३७ करोड रुपैयाँ र एभरेष्ट बैंक लिमिटेड डिबेन्चरको ३६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको सूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.४७ प्रतिशतले वृद्धि भयो भने उत्पादन तथा प्रशोधन उपसमूहको सूचक ०.१८ प्रतिशतले ओरालो लागेको छ।