गृहमन्त्रीमाथि नैतिकताको प्रश्नः सुनकाण्डमा काँक्रा चोरेर बियाँ अरुको गालामा राख्ने हर्कत नहोस् !
काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अति सुरक्षित र संवेदनशील ठाउँबाट सुरक्षा र भन्सार जाँच पास गर्दै करिब १०० किलो सुन बाहिरिएपछि त्यो विषयलाई लिएर विभिन्न खाले चर्चा सुरु भएका छन् । यो प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक प्रणाली मात्रै होइन मुलुकको समग्र सुरक्षा संयन्त्रमाथि नै प्रश्न खडा गरिदिएको छ ।
अहिले गृहमन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । पछिल्लो समय उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण जस्ता विषयसँग जोडेर आफूलाई सफल गृहमन्त्रीको पगरी गुथाउने प्रयाससहित त्यही ढंगको प्रचार गर्दै आउनु भएको छ ।
तर, उहाँले कमाण्ड सम्हाल्दै आएको गृहमन्त्रालयलाई समेत निरीह बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरिदिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिकताको प्रश्न खडा गरिदिएको छ ।
विमानस्थल भनेको यात्रुको आगमन र प्रस्थानमा निकै कडाइ गरिने स्थल हो । त्यहाँको सुरक्षा जाँच कडाइ भएको अवस्थामा कुनै पनि व्यक्तिले त्यहाँबाट सियो पनि बिना जाँच पास ल्याउन वा लैजान सक्दैन । तर, त्यही विमानस्थलबाट १०० केजी हाराहारीको सुन बाहिरिएको जानकारी त्यहाँको सुरक्षा संयन्त्रले थाहा पाएन भन्ने कुरा कसैले पनि पत्याउँदैन । त्यति मात्रै होइन त्यति धेरै मात्राको सुन बाहिर बिना सेटिङ ल्याउने कुरा भर्खर जन्मिभएको बच्चा फेरि गर्भमै फर्किनु जस्तै असम्भव हो ।
अझ गज्जव त के छ भने त्यति ठूलो परिणामको सुन बरामद गर्नु अघि दुई महिनाको वरीपरी करीब २२ पटक सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको चर्चा पनि अहिले आइरहेको छ । तर, सुशासनको गफ चुटेर नथाक्ने गृहमन्त्री नारायणकाजीको यो विषयमा देखिएको मौनताले धेरै कुरा शंकास्पद देखिएका छन् ।
केही दिनदेखि माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा र महराका छोरालाई जोडेर सुनकाण्डको विषय चर्चामा आइरहेका बेला सय किलो सुनकाण्डको विषय आउनुले पनि यो विषय माओवादीका नेताहरुसँग नजोडिएको होला भनिहाल्ने अवस्था छैन ।
माओवादीकै वरिष्ठ नेता गृहमन्त्री रहेका बेला अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन बरामद हुनुले त्यसको लहरो माओवादीसम्म नपुग्ला भन्न सकिन्न । तर, अहिले माओवादीकै एक समूह यो काण्डलाई कमजोर बनाउन नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जानुहुँदा नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतमा सँगै जानुभएका व्यवसायी दीपक मल्होत्राको तस्बिर जोडेर यो सुन आयात प्रकरणका मुख्य दोषी नै मल्होत्रा भएको र उहाँको घनिष्ठ सम्बन्ध एमालेसँग भएको भन्ने गलत ढंगले प्रचार गर्ने थालिएको छ ।
योभन्दा अघि पनि ३३ किलो सुनकाण्ड समातिएको काण्डमा मल्होत्रालाई त्यसैगरी मुछ्ने हर्कत भएको थियो । तर, उहाँको त्यसमा कतै पनि संलग्नता देखिएन । ओली नेतृत्वकै सरकार रहेका बेला प्रक्राउ परेका सुन तस्कर गोरे बरु अहिले जेलमा रहेका छन् । मल्होत्राले आज पत्रकार सम्मेलन नै गरेर आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको छ ।
माओवादी निकटकै केही सञ्चारमाध्ययमले समेत घुमौरोपाराले मल्होत्रालाई दोषी देखाउनु र माओवादी निकटका व्यक्तिहरुले मल्होत्रालाई ओलीसँग जोडेर कुप्रचार गर्नुले पनि कतै त्यसमा पनि माओवादी नेताहरुकै रणनीति त होइन ? भन्ने आशंका पनि उत्पन्न गराइदिएको छ ।
काँक्रा आफूले चोरेर बियाँ अरुको गालामा टाँसिदिने उखान जस्तै अहिले एमाले अध्यक्ष ओलीसँग मल्होत्राको तस्बिर देखाएर दोष एमालेलाई लगाउने र त्यस्तो गम्भीर घटनालाई ढाकछोप गर्ने र आफूहरुलाई पानीमाथिको ओभानु देखाउने हर्कत माओवादीकै कित्ताबाट भैरहेको छ ।
मल्होत्रा व्यवसायी हुनुहुन्छ । उहाँ चेम्बरको उपाध्यक्षसँगै अन्य महत्वपूर्ण व्यवसायिक संघ–संस्थाको समेत जिम्मेवारीमा हुनुहुुन्छ । त्यस्तो व्यक्तिसँगको भेटघाट र तस्बिरलाई जोडेर ध्यान अन्तै मोड्ने प्रयास हुनु दुःखद कुरा हो । अरुलाई दोष लगाएर दोषी उम्किने भन्दा पनि गहिरो अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नु अहिलेको आवश्यकता हो । त्यसका लगि गृहमन्त्री स्वयंले पनि त्यसका लागि सहज वातावरण बनाउन आवश्यक छ ।
यो प्रकरणमा उहाँले कमाण्ड सम्हालेको गृहमन्त्रालय नै लाचार देखिनु भनेको उहाँ स्वयंमाथि प्रश्न चिन्ह खडा हुनु हो । त्यसका लागि आवश्यक पर्यो भने उहाँले नैतिकता प्रकट गर्दै छानविनलाई सहज बनाउन राजीनामासम्मको बाटो रोज्नुपर्ने भयो भने पनि रोज्नुपर्छ ।