खर्पन –
प्रधानमन्त्री केपी शर्मा ओली

म यही खर्पनमा हालेर हर दिन बेलुका
बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हर दिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा–
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो,
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो
मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरु हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।