बौद्ध–जोरपाटी–नारायणटार सडक सुधार हुने

काठमाडौँ, २० साउन । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी बौद्धदेखि दक्षिणढोकासम्मको मूल सडक सुधार गरिने भएको छ ।

सो सडक हिलाम्मे भई सवारी आवागमन नै हुन नसक्ने स्थितिमा पुगेको छ । नालीको व्यवस्थापन नभएका कारण सडकमा हिँड्न नसकिने भएको स्थानीयवासीको गुनासो छ । ठूलो पानी परेका बेला नारायणटार क्षेत्रका घरमा बाढी नै छिर्ने गरेको छ । गत आवमा जोरपाटी चोकदेखि नारायणटार पुलसम्मको सडक नाली व्यवस्थापन गर्न सडक डिभिजन कार्यालय काठमाडौँले ठेक्का प्रक्रिया अघि बढाएपछि विस्तारसँगै नाली व्यवस्थापन गरिने भनेर रोकिएको स्थानीयवासी मोहन गौतमले बताउनुभयो ।

बौद्ध हुँदै चीनको खासासम्म सडक सञ्जाल विकास गर्ने सोच अघि सारिए पनि यो सडक व्यवस्थित हुन सकेको छैन । “यो सडक निर्माणमा सबै निकाय गैरजिम्मेवार बनेपछि सडकमा एम्बुलेन्स नै चल्न नसक्ने गरी बिग्रिएको छ, डिभिजन सडक कार्यालयले विस्तार आयोजनालाई र आयोजनाले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई देखाएर पन्छने गरेका छन्”– उहाँले भन्नुभयो ।

हिलो, धुलो र ठूलाठूला खाल्डा हुँदै सवारी साधनमा आवागमन गर्दा मानिसको स्वास्थ्यमा गम्भीर प्रभाव परेको छ । राज्यका कार्यकारी निकायको ढिलासुस्ती र बेखबरले जनता आजित भएपछि आज सांसद रामेश्वर फुयाँलको संयोजनमा सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, गोकर्णेश्वर नगरपालिका, कामपा ६ नं वडा कार्यालय, राजनीतिक दलका प्रतिनिधिसहित सरोकार भएका निकायबीच छलफल भयो । सडकमा हिँडडुल र आवतजावत गर्नै समस्या भएपछि जनप्रतिनिधिका नाताले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न समन्वयकारी पहल थालिएको सांसद फुयाँलले बताउनुभयो ।

“सडक खेतमा परिणत भएको छ, यसको समाधानमा सम्बन्धित निकायले तत्काल काम थाल्न आवश्यक छ, जनताले दुःख पाएका छन्, स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ, छिटो यसको समाधान निकालौँ”– नेकपा(एमाले)का नेता फुयाँलले भन्नुभयो । तत्कालै सडक मर्मतको काम सुरु गर्न उहाँले विस्तार आयोजनालाई अनुरोध गर्नुभयो ।
आयोजना प्रमुख मनोज श्रेष्ठले १५ दिनभित्र मर्मतको काम सुरु गरिसक्ने प्रतिबद्धता जनाउनुभयो । “प्राधिकरणले चाबहिल–जोरपाटी खण्डमा घरजग्गा खाली गराउने काम नसकेकाले ठेकेदार कम्पनी नियुक्त भएर पनि विस्तारको काम सुरु हुन नसकेको हो”– उहाँले भन्नुभयो ।
डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख धर्मेन्द्र झाले उक्त सडक विस्तार आयोजनालाई हस्तान्तरण भइसकेकाले डिभिजन अन्तर्गत नरहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले तत्काल काम सुरु गर्न आग्रह गरेका थिए ।