मुस्ताङ अस्पतालमा डिजिटल एक्स–रे मेसिन
मुस्ताङ । जिल्ला अस्पताल मुस्ताङमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको दुई लाख ९८ हजार रुपैयाँको सहयोगमा आधुनिक एक्स–रे मेसिन जडान गरिएको हो ।
बिरामीलाई छिटो र छरितो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लामो समयको प्रयासपछि एक्स–रे मेसिन जडान गरिएको अस्पतालका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिनुभयो ।
“अस्पतालमा रहेको १८ वर्ष पुरानो मेसिनले राम्रोसँग काम गर्न सकेको थिएन, नयाँ मेसिन जडानपछि सेवा पनि गुणस्तरीय हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । अस्पतालमा स्वास्थ्य विभागबाटै डिजिटल अक्सिजन कन्सन्टे«टर, अक्सिजन तह नाप्ने यन्त्र र १० वटा फोल्डिङ बेड प्राप्त भएको अस्पतालले जनाएको छ । मुस्ताङमा अक्सिजन मेसिन भने पहिलोपटक राखिएको हो । खासगरी चिसो मौसममा यसको प्रयोग धेरै हुने बताइएको छ ।
अस्पतालमा उपकरण थप गरिएसँगै अन्तरङ्ग, बहिरङ्ग विभाग, सोधपुछ र औषधि वितरण कक्षलाई व्यवस्थित गरिएको अस्पतालले जनाएको छ । दुईजना डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले पाँचजना डाक्टरले निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकाछन् ।
“दैनिक ४० जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्, अब धेरै हुने अनुमान छ”, प्रमुख ज्ञवालीले भन्नुभयो ।
साउन २१ गते ।