माओवादीले हेग जाने डरले कांग्रेससँग गठबन्धन गरेको हो—चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

Chitra-Bahadur-Kc

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहनु भएको चित्रबहादुर केसी प्रष्ट बक्ता हुनुहुन्छ । मन्त्री पद खुस्किएपछि आफ्नै डेरामा बस्दै आउनु भएको उहाँ कांग्रेस–माओवादीको गठबन्धनलाई अप्राकृतिक भन्नुहुन्छ । आ–आफ्नै स्वार्थले बनेको गठबन्धनले नेपाली जनतालाई राहत नदिने उहाँको दाबी छ । केसीले माओवादी हेग जाने डरले सत्ताको नेतृत्वमा जान अत्तलिएको पनि उहाँले बताउनु भयो । नेपाली कांग्रेसले सत्तामा बसेर भारतको दलाी गर्ने पनि उहाँको आरोप छ । उहाँसँग मैत्रीन्जयुज डटकमले कुराकानी गर्दा ती दलको गठबन्धनको भविष्यबारे पनि केही खोतल्नुभयो । उहाँसँग मैत्रीन्जुज डटकमले गरेको कुराकानीः

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार बनेको छ । यो सरकार गठनलाई कसरी लिनुभएको छ ?

०७३ साल चैत २० गते म बागलुङ जान भनेर हिँडेको थिएँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पोखरा जानु भएको रहेछ । हामी दुबै जनाको त्यहाँ भेट भयो । हामी दुई बीच त्यहाँ करिब दुई घण्टा कुराकानी भयो । त्यहाँ उहाँ मात्र हुनुहुन्थेन । उहाँका सचिवालयका मान्छे थिए । मेरो पनि सचिवालयका मान्छेहरु थिए । अरु पनि धेरै थिए । ती सबैका बीचमा मैले उहाँलाई त्यसैबेला ‘हेर्नुहोस, प्रचण्डजी अब नेपाली कांग्रेस र छिमेकको पनि आशाको केन्द्र तपाईँ नै हो’ भनेको थिएँ । त्यसो भनेको २५ दिनपछि प्रचण्डले कांग्रेससँग मिलेर ओलीजीको सरकार ढाल्ने अभियान नै चलाए । तर, त्यसभित्र भद्र सहमति भएर हो वा अभद्र सहमति भएर हो । त्यो प्रक्रियाले गति लिएन । अहिले गएर मैले जे घोषणा गरेको थिएँ, त्यो कुरा कार्यान्वयन भै हाल्यो । मैले कति अड्कल गरेर प्रचण्डलाई भनेको रहेछु । त्यहि कुरा अहिले पुष्टि भएको छ ।
छिमेक (भारत) संविधान पनि बन्न नदिने अनि ओलीजीलाई पनि प्रधानमन्त्री बनिरहन नदिने खेलमा थियो । त्यति मात्र होइन सुरुमा ओलीजीलाई प्रधानमन्त्री नै बन्न ननिदेसम्मको खेलमा छिमेक थियो । त्यहि भएर संसद्बाट केही सांसद्हरुले कथित मधेस आन्दोलनका नाममा भोट नै नहालेर संसद् बहिस्कार गरेर हिँडेका थिए । पछि ती नै शक्ति केपी ओलीजीलाई हराउन चाँहि लुरुलुरु भोट हाल्न संसद्मा आए । भनेपछि सबै कुरा छर्लङ्ग छ । कहाँबाट ? कसले ? के ? गरिरहेको छ भन्ने अड्कल काट्न कुनै मुस्किल छैन ।

ए भनेपछि पहिलो ओली प्रधानमन्त्री बन्ने बेलामा मधेस आन्दोलन भन्दै हिड्ने र अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउँन संसद्भा भोट हाल्न आउनेहरु पनि भारतकै इशारामा चलेका हुन भन्ने तपाईँको आरोप हो ?

अलिअलि होइन, यो सतप्रतिशत हो ।

प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा भारतको नेपालमाथिको नाङ्गो हस्तक्षेप हो भनेर बुझ्यो भने के हुन्छ ?

हो, भारतीय शासकहरुले गरेको यो पहिलो हस्तक्षेप होइन । यस्ता हस्तक्षेप पहिल्यैदेखि हुँदै आएका छन् । भारतीय शासक हिमाली क्षेत्रका तीन वटा राजतन्त्रात्मक राज्य मध्ये सिक्किमलई खाईसके । भुटानलाई पनि उनीहरुले आफ्नो कठपुतली बनाएर नाम मात्रको देश बनाएर शोषण गरेर राखेका छन् । यी तीन वटा राजतन्त्रात्मक राज्य मध्ये जनसंख्याको हिसावले पनि अलिक ठूलो भनेको नेपाल हो । जनताको चेतनाको हिसावले पनि ती दुई देश भन्दा अलिक माथि भएकाले उनीहरुले सिक्किम र भुटान बनाउन सकेका छैनन् । सन् १९५० को सन्धिनै तपाईँले हेर्नुभयो भने पनि त्यहाँ नेपालले हातहतियार किन्दा भारतको मञ्जुरी चाहिने उल्लेख छ । यो भनेको के ? प्राकृतिक स्रोत–साधनमा पनि भारतको पहुँच हुनेखालको त्यो सन्धिले पनि स्पष्ट पार्छ । भारत अहिले होइन पहिलादेखि नै नेपाललाई कब्जा गर्न चाहन्थ्यो ।

भारत संघीयताका आडमा नेपाल टुक्र्याउने खेलमा छ भन्ने पनि आरोप छ नि ?

उनीहरु नेपालको समथर भूभागलाई पहाडबाट अलग गर्ने अभियानमा भारत लागि परेको छ । अंगिकृत नागरिकता लिएर आएर यहाँ मन्त्री, प्रधानमन्त्री भएर अर्वौ रुपैयाँ कमाएर यहाँको माटो समेत लिएर भारत जाने अभियानमा छन् । त्यसलाई भारतले साथ दिएको छ । त्यसकारण देशको राष्ट्रिय, सार्वभौमिकता र अखण्डता जोगाउँने देशका जनताले हो । यो कुरा नेपाली जनताले पनि बुझेका छन् भन्ने मैले ठानेको छु । नेपाली जनता जागरुक भएन भने विभिन्न सौदावाजी गरेर देशको माटो नै लैजान सक्छन् । यसमा सबै सचेत हुनुपर्छ । नेपाललाई आँखाको नानी बनाउनुपर्छ भन्ने चेतना आएको छ । त्यसैले म आत्तिएको छैन । नेपालको राष्ट्रियता बचाउँन सबै जनता लाग्नेछन् भन्नेमा म ढुक्क छु ।

कांग्रेस–माओवादीको गठबन्धनले संविधान कार्यान्वयन गर्ने संभावना कत्तिको देख्नु भएको छ ?

धेरै कठिन छ । नेपाली कांग्रेसलाई नेपाली जनताले चिनेकै छन् नि । नेपाली कांग्रेस नेपाली जनताको रोजीरोटीका लागि लड्छ भन्ने कसैलाई पनि विश्वास छैन । ०४६ सालपछि सबै भन्दा लामो समय सत्तामा बसेको पार्टी नेपाली कांग्रेस नै हो । तर, नेपाली जनताका पक्षमा त केही पनि काम गर्न सकेन भन्ने कुरा त जनतालाई पूरै थाहा छ नि ?
भारतले त्यत्रो नकाबन्दी गर्यो तर नेपाली कांग्रेसले नाकाबन्दी समेत भन्ने आँट गर्न सकेन । कांग्रेसले असहज परिस्थिति भनेर टार्यो । त्यसकारण उनीहरुलाई नेपाली जनताको सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा बोलेलको भारतीय विस्तारवादको ठाडो हस्तक्षेपको विरोध गरेको पनि नेपाली कांग्रेसलाई पच्दैन । त्यसकारण पनि आगामी बाटो गठिन छ । कांग्रेसलाई अहिले संघीता घाँडो भएको छ । तर, आफ्ना मालिकहरुले बोकाएको भारी भएकाले मात्र हुन्न भन्न सकेको छैन । प्रचण्डलाई पनि संघीयता घाँडो भएको छ ।
संविधान कार्यान्वयनका सन्र्दभमा कुरा गर्दा आफ्ना मालिकहरुले जे प्रयोजनका लागि सत्तामा राखेको छन् त्यो प्रयोजन पूरा गर्ने गरी काम गर्नुपर्ने हुन्छ । तर, त्यो कुरा नेपाली जनताले मान्दैनन् । नेपाली जनता सचेत भएका छन् । त्यसकारण पनि कठिन छ ।

अहिले टाउकाको मूल्य तोक्ने र तोकि माग्नेबीचको गठबन्धन छ । यो गठबन्धनलाई चाँहि कसरी लिनु भएको छ ?

यो उनीहरुको आ–आफ्नो स्वार्थको गठबन्धन हो । माओवादीलाई हेग’ जाने चिन्ताले त्यहाँ पुर्याएको छ । नेपाली कांग्रेसलाई सत्तामा जाने चिन्ताले त्यहाँ पुर्याएको हो । नभए ओलीको सरकारमा माओवादीले आठ–आठ वटा रोजा मन्त्रालय लिएको थियो किन अरु चाहिएको थियो ? माओवादीलाई सबै भन्दा बढी सताएको भूत भनेको ०५२ देखि ०६२ सम्मको कथित जनयुद्धका नाममा हजारौ नेपाली जनताले यातना भोगे । हजारौँ जनता सहिद भए । त्यहि कारण उनीहरु हेग जानु पर्ने चिन्ताले उनीहरुलाई सताएको छ । प्रजातन्त्रको ठेकेदार भन्ने नेपाली कांग्रेस भारतीय विस्तारवादको ठेकेदार बन्नलाई पनि सत्तामा बसिरहनु पर्ने भएकाले यी दुबैको कुरो मिलेको हो । लामो समय सत्ताको रस्वादन गरेको कांग्रेस सत्ता बारिह बस्नु पर्यो भने पानी विनाको माछो जस्तो बन्छ । त्यसैले पनि यी दुईको गठबन्धन मिलेको हो । जनतलाई ठगेर लूट मच्याएकाहरुको गठबन्धन त्यति बलियो होला जस्तो लाग्दैन । उनीहरु सत्तामा रहँदा नेपाली जनताले राहत पाउलान भन्ने मलाई विश्वास छैन । लोकतन्त्र वा प्रजातन्त्र र राष्ट्रियताका नाममा ठग्ने काम होला तर जनताले राहत पाउने काम होला भन्ने मलाई विश्वास छैन ।