देशी विदेशी शक्तिले ओली सरकारलाई बाहिरिन वाध्य पारे : एमाले कास्की
पोखरा । नेकपा एमाले कास्कीको १९ औँं पूर्ण बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बैठकले खेम पुन र लीलाधर आचार्यलाई जिल्ला सदस्य र शिवबहादुर बराललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
नयाँ परीक्षणकालीन एकहजार २४० सदस्यको आवेदन स्वीकृत, पार्टीमा थप विभागसहित प्रमुखको जिम्मेवारी, आव ७३÷७४ को वार्षिक योजना तथा कार्यक्रम र बजेट पारित गरेको पार्टी अध्यक्ष कृष्ण थापाले जानकारी गराउनुभयो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको सरकारलाई देशी तथा विदेशी शक्तिले बाहिरिन बाध्य पारेको बैठकको निर्णयमा उल्लेख छ ।
पार्टीका जिल्ला अध्यक्ष थापाले एमाले सत्तामा हुँदा वा सत्ता बाहिर रहँदा निःशर्त विकासमा काममा निरन्तर लागिरहने बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला सचिव दामोदर वैरागी र सचिवालय सदस्य तेजनारायण अधिकारीले पनि पार्टीका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।