नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले त्यसलाई पूर्णता दिनेछ : प्रवक्ता भुसाल
भक्तपुर, २६ साउन । नेकपा ं(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेपाली काँग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु भएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारको बजेट र नीति तथा कार्यक्रम त्यसबेला सरकारमा सहभागी माओवादी केन्द्रसँग छलफल गरेरै ल्याएको हुनाले वर्तमान सरकारले त्यसलाई पूर्णता दिने स्पष्ट पार्नुुभयो ।
सरकारले शान्ति प्रक्रियाको मुद्दालाई सम्बोधन गर्ने, पुनःनिर्माणको कामलाई तीव्रता दिने, मधेस आन्दोलनको समाधान खोज्ने र संविधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।
विगतको सरकारले मधेस आन्दोलनको नेतृत्वसँगको संवाद उपलब्धिमूलक बनाउन नसके पनि वर्तमान सरकारको निर्माण अगावै तीनबुँदे सहमति गरेर उनीहरुले सरकार निर्माणमा सघाएको प्रसंग पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको र तयारीका लागि विभिन्न तहमा छलफल जारी रहेकोे बताउनुभयो ।