मौद्रिक नीतिको वार्षिक समीक्षा: विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा बढी, निजी क्षेत्रको कर्जा प्रवाह सुस्त
काठमाडौँ, २३ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विस्तृत मुद्रा प्रदाय (ब्रोड मनी सप्लाई) को वृद्धिदर लक्ष्यभन्दा बढी देखिए पनि निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदर भने अपेक्षित रूपमा बढ्न नसकी सुस्त रहेको छ।
समीक्षा अवधिमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत पुगेको छ, जबकि राष्ट्र बैंकले चालु वर्ष यसको वृद्धि १३ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरेको थियो। यता, निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतले बढाउने लक्ष्य लिइएकोमा वैशाख मसान्तसम्म यसको वृद्धिदर ६.५ प्रतिशतमा मात्र सीमित रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ। राष्ट्र बैंकले औसत मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो। यद्यपि, २०८३ वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत कायम भएको छ।
विदेशी विनिमय सञ्चितितर्फ भने उल्लेख्य सुधार देखिएको छ। कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त सञ्चिति राख्ने लक्ष्य लिइएकोमा वैशाख मसान्तसम्मको सञ्चितिले १९.२ महिनाको आयात धान्न सक्ने सबल अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा यथावत् राख्दै स्वचालित तथा नियममा आधारित खुला बजार कारोबारलाई निरन्तरता दिइएको छ। ब्याजदर करिडोरका उपकरणहरूलाई आवश्यकता अनुसार खुला बजार कारोबार कार्यविधि बमोजिम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, चेक अनादर (चेक बाउन्स) का कारण कालोसूचीमा पर्ने व्यवस्थामा नीतिगत सहजीकरण गर्ने घोषणा गरिएकोमा सो विषयमा हाल अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ।
ग्राहकको डिजिटल क्रेडिट स्कोरका आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने प्रणालीलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी सुधार गरिएको छ।