गर्मी छल्न लमजुङको गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ, २३ असार । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकका लागि लमजुङको गाईखुरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक खण्ड नजिकै रहेको यस झरनामा दैनिक ५०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन्।

बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको यो झरना करिब एक सय मिटर अग्लो छ। सडकको सहज पहुँचका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको चाप बढेको स्थानीयको भनाइ छ। अग्लो पहराबाट प्राकृतिक पोखरीमा खस्ने कञ्चन पानी र घामको किरणसँगै देखिने सप्तरङ्गी इन्द्रेणीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। हाल लमजुङका साथै मनाङ, गोरखा, कास्की, तनहुँ र चितवन लगायतका जिल्लाहरूबाट पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।

झरना क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका लागि सरकारी तवरबाट बजेट विनियोजन सुरु भएको छ। बेँसीसहर नगरपालिकाले चालु आर्थिक वर्षमा ९ लाख रुपैयाँको लागतमा दुईवटा पोखरी निर्माण गरिसकेको छ। यस्तै, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालका अनुसार मर्स्याङ्दी नदीबाट पानी तानेर वर्षैभरि झरना बगाउने, थप पोखरी तथा पार्किङ स्थल निर्माण गर्ने र साहसिक खेल क्यानोनिङ सञ्चालन गर्ने योजना रहेको छ। यद्यपि, बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विगतमा नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाए पनि काम हुन नसक्दा पूर्वाधार विकासले अपेक्षाकृत गति लिन नसकेको बताए।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ भएकाले यस मार्ग भएर मनाङतर्फ जाने विदेशी पर्यटकहरू समेत यस झरनामा रोकिने गरेका छन्। गाईखुरेका साथै मर्स्याङ्दी गाउँपालिकामा रहेका अक्टोपस झरना, बुङ झरना र हामखोला झरनामा पनि हाल पर्यटकहरूको चहलपहल बढेको छ।