राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा ध्यान केन्द्रित हुन्छ – ओली

maitrinews

PM 4

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । हिजोदेखि बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, संविधान कार्यान्वयन र पार्टी निर्माणलाई केन्द्रमा राखेर आगाडि बढ्ने बताउनुभएको छ ।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी बैठकमा उहाँले राष्ट्रिय एकता र संविधान कार्यानवयनमा सिङ्गो पार्टी पङ्क्ति परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।
नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएकाप्रति बैठकमा गम्भीर ध्यानाकर्षण भएको बैठकपछि पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकले राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम समुदायलाई अपिल गर्दै अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको समेत उहाँले बताउनुभयो ।
पार्टी प्रमुख प्रतिपक्षमा भएपछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको छलफलको कार्यसूची तय गरेको, मुलुकको समसामयिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कामका बारेमा छलफल भएको छ ।
बैठकमा छलफलका लागि विगतका कामको समीक्षा, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुनःसंरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीको पूर्णता कार्यसूची रहेको छ ।
त्यस्तै, कार्यसूचीमा सल्लाहकार परिषद्मा सदस्य थप, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन र पार्टी प्रवेश गरेकाको जिम्मेवारी व्यवस्थापनसम्बन्धी कार्यसूची तय भएको छ ।