चन्दा उठाउन शैक्षिक हडताल, ७५ लाखभन्दा बढी विद्यार्थी स्कुल जान पाएनन्

maitrinews

 

काठमाडौँ । शैक्षिक हडतालका कारण आज पनि स्कुल बन्द छन् । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल क्रान्तिकारीले देशभरका शैक्षिक संस्था ठप्प पार्दा ७५ लाखभन्दा बढी विद्यार्थी स्कुल जान वञ्चित भए । हिजो र आजको बन्दले आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्तो

पाए न अभिभावकलाई नै यसको कारणबारे त्यति थाहा भयो । बन्दबारे सोध्दा अधिकांश विद्यालय सञ्चालकले भने, ‘कुन संगठनले किन बन्द गरेको भन्ने औपचारिक जानकारी नै नभई हल्लाकै भरमा बन्द गर्नुपर्‍यो ।’

क्रान्तिकारीका कार्यकर्ताले सोमबार राजधानीका केही विद्यालयमा तोडफोडसमेत गरे ।

‘केही दिनअघि रातो टिसर्ट लगाएका युवकहरूले क्रान्तिकारी हौं भन्दै ११ र १२ को कक्षामा छिरेर भाषण गरेका थिए,’ राजधानीस्थित एक विद्यालयका शिक्षकले भने, ‘उनीहरूले दुई–चार दिनपछि
चन्दा लिन आउँछौं, चार–पाँच लाख रुपैयाँ ठिक गर्नू भनेका छन् ।’ चन्दा माग्नकै लागि विद्यालय बन्द गरिएको उपत्यकाका अधिकांश निजी विद्यालयका सञ्चालकहरूको भनाइ छ ।
उच्च माध्यमिक विद्यालय संघ हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले कसले केका लागि शैक्षिक हडताल गरेको भन्नेबारे थाहै नपाएको बताउनुभयो । ‘बन्द भन्ने हल्ला चल्यो, बन्द गरायौं,’ टाउकोमा रातो फिता लगाएर छापामार शैलीमा शिक्षण संस्थाभित्र प्रवेश गर्नेहरू देखा परेको उल्लेख गर्दै शर्माले भन्नुभयो, ‘हामीलाई कुनै संगठनले आधिकारिक पत्र काटेका छैनन् । तर आतंकित तुल्याउने व्यवहार भएको छ । अभिभावक र विद्यार्थी त्रसित छन् ।’ अधिकांश स्कुलले मंगलबार पनि विद्यार्थी नपठाउन अभिभावकहरूलाई खबर गरिसकेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका महासचिव डीके ढुंगानाले बन्दका कारण लाखौं विद्यार्थीको पढाइ अवरुद्ध भएको उल्लेख गर्दै ‘जोसुकै पक्षले जुनसुकै विषयमा माग राखेको भए पनि वार्ता र संवादबाट समाधान खोजिनुपर्ने’ बताउनुभयो ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बन्द हडतालले बालबालिकाको शैक्षिक भविष्यलाई थप अँध्यारोतर्फ धकेल्ने हुनाले बन्दकर्ताले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले भने शैक्षिक मागप्रति राज्यले बेवास्ता गरेकाले बन्द गर्नुपरेको दाबी गर्नुभयो ।