रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक: महामन्त्रीमा १० जनाको भिडन्त

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेसँगै चुनावी सरगर्मी बढेको हो।

सार्वजनिक सूची अनुसार पार्टीको शक्तिशाली मानिने ‘महामन्त्री’ पदमा सबैभन्दा धेरै १० जनाको दाबी परेको छ। रास्वपाको महामन्त्रीका लागि प्रभावशाली नेताहरू मैदानमा उत्रिएका छन्। १० जनाको प्रारम्भिक सूचीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। चर्चित युवा नेता सागर ढकाल र रन्जु दर्शनाको उम्मेदवारीले यस पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

महिला उपसभापति (एक पद) का लागि दुई प्रभावशाली सांसदहरू सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि उम्मेदवारी दिने चर्चामा रहेकी समिक्षा बास्कोटाले भने अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएकी छन्। यता, पुरुष उपसभापतिमा भने डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

दुई जना निर्वाचित हुने ‘खुला सह–महामन्त्री’ पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा रमेश प्रसाईं, पुकार बम, असिम शाह, मिलन लिम्बु, हरि ढकाल, हिमेष पन्त लगायतका चर्चित अनुहारहरू छन्।

त्यस्तै, एक जना निर्वाचित हुने ‘महिला सह–महामन्त्री’ का लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा गरी ५ जनाको दाबी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *