ऊर्जा आपूर्ति सहज भएसँगै भारतद्वारा व्यावसायिक एलपिजीमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी, १२ असार । मध्यपूर्वमा जारी तनावका कारण प्रभावित बनेको ऊर्जा आपूर्ति क्रमशः लयमा फर्कन थालेपछि भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) माथिको प्रतिबन्ध हटाएको छ। रणनीतिक महत्वको हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएसँगै ग्यास आपूर्तिमा सुधार भएपछि भारतले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो।

भारतीय पेट्रोलियम मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै गैर–घरेलु प्याक गरिएको एलपिजीमा लगाइएको रोक हटाएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार अब व्यावसायिक ग्यासको आपूर्ति पश्चिम एसियामा संकट सुरु हुनुअघिकै अवस्थामा पुगेको छ।

मन्त्रालयले संकटको सुरुवाती चरणमा रोकिएको ‘बल्क एलपिजी’ आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको जनाएको छ। इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा उल्लेख्य सुधार आएको छ। सोही मार्ग हुँदै भारतमा ठूलो परिमाणमा इन्धन भित्रिने गर्दछ।

विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपिजीको दोस्रो ठूलो आयातकर्ता मुलुक हो। भारतले आफ्नो आवश्यकताको अधिकांश एलपिजी मध्यपूर्वी मुलुकहरूबाट आयात गर्ने भएकाले क्षेत्रीय द्वन्द्वले यहाँको ऊर्जा सुरक्षामा प्रत्यक्ष असर पारेको थियो।

विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्धका कारण फेब्रुअरी अन्त्यदेखि प्रभावित बनेको थियो। जसका कारण भारतमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्ति शृङ्खलामा दबाब सिर्जना भएको थियो।

ऊर्जा संकटको समयमा आपूर्ति सुनिश्चित गर्न भारतले गत महिना मात्रै करिब ४ अर्ब अमेरिकी डलर बराबरको ‘कोइला ग्यासीकरण’ विस्तार योजना स्वीकृत गरेको थियो। खाडी क्षेत्रको अवरोधले भारतको आर्थिक वृद्धिदरको अनुमानमा समेत नकारात्मक असर पुर्‍याएको अर्थशास्त्रीहरूले बताएका छन्।

अहिले अन्तर्राष्ट्रियस्तरमा आपूर्ति मार्ग सुचारु भएसँगै सरकारले बजार र समग्र अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको छ।