अर्घाखाँचीलाई टिमुरको ‘हब’ बनाइँदै: ६० हजार बिरुवा रोपण सुरु, ५ सय रोप्नेलाई घरमै पुर्याइँदै बेर्ना
अर्घाखाँची, १२ असार । अर्घाखाँची जिल्लामा व्यावसायिक टिमुर खेतीको माध्यमबाट स्थानीयलाई स्वरोजगार बनाउने अभियान सुरु भएको छ। डिभिजन वन कार्यालयले जिल्लाभर ६० हजार टिमुरका बिरुवा वितरण र रोपण कार्यलाई तीव्रता दिएको हो।
जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना देखिएकाले यसलाई व्यावसायिक कृषि विस्तार र आयआर्जन वृद्धिको मुख्य आधार बनाउने लक्ष्य राखिएको छ। वन कार्यालयको अगुवाइमा सुरु भएको यो अभियान अन्तर्गत सामुदायिक वन, निजी जग्गा तथा बाँझो जमिनमा बिरुवा रोपण भइरहेको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुर खेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ। कृषकलाई प्रोत्साहन गर्न कार्यालयले विशेष सहुलियतको समेत व्यवस्था गरेको छ। “५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक वा समूहलाई उनीहरूको घरमै बिरुवा पुर्याउने व्यवस्था मिलाएका छौँ,” खड्काले भने, “बिरुवा वितरणसँगै हामीले खेती गर्ने तरिका र स्याहारसम्भारका लागि प्राविधिक परामर्श पनि दिइरहेका छौँ।”
टिमुरका बिरुवाको मागलाई सम्बोधन गर्न जिल्लाका विभिन्न चार स्थानीय तहमा नर्सरीहरू सञ्चालन गरिएको छ। सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरा क्षेत्रमा बिरुवा उत्पादन भइरहेको छ ।
टिमुरको बजार माग स्वदेश र विदेशमा समेत उच्च रहेकाले यो अभियानले जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। जङ्गली जनावरको अवरोध कम हुने र कम मिहिनेतमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय अर्घाखाँचीका किसानहरू टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका छन्।