सुकुम्बासी समस्या समाधान गर्न विशेष पहल गर्छु ः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासी समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य नेतृत्वको प्रमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सुकुम्बासी समस्याका बारेमा आफू जानकार रहेकाले कुनै न कुनै तरिकाबाट समाधान खोजिने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुकुम्बासी समस्या मुलुकको जटिल समस्या हो । यो आफैँमा सम्बेदनशील विषय पनि हो । संविधानको परिधिले क्रान्तिकारी समाधानको बाटो नखोले पनि अधिकतम् सुधारका लागि नयाँ सरकारले काम गर्नेछ ।”

प्रधानमन्त्रीले वर्षात्को समयमा वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भन्दै त्यसका लागि सरकारले आवश्यक निर्देशन दिइसकेको बताउनुभयो । उहाँले व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहने विश्वाससमेत व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओवादीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरिकनै बासस्थान उठाउने, सूचना जारी गर्ने, खेती बाली नष्ट गर्ने कार्य तत्काल रोक्न, सुकुम्बासी बस्तीमा पानी, बिजुली आपूर्तिको व्यवस्था गर्न, वास्तविक सुकुम्बासी छुट्ट्याउन र परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ ।

यस्तै सुकुम्बासीका बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न, रोजगारीको प्रबन्ध गर्न र वैकल्पिक व्यवस्था गरेर मात्रै सुकुम्बासीलाई स्थानान्तरण गर्न माग गरिएको छ ।