दाङमा कर्णबहादुरव्दारा राजु र कालुको गोली हानी हत्या

maitrinews

 

दाङ । दाङको गढवामा एक व्यक्तिले गोली प्रहार गरेर दुईजनाको हत्या गरेका छन् । गढवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीयवासी ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।
प्रहरी उपरीक्षक सिंहका अनुसार गोली लागी गम्भीर घाइते कालुको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । अर्का घाइते राजुको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
गएराति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसइबी साँध्न गोली हानेको प्रउ सिंहले बताउनुभयो ।
प्रउ सिंहका अनुसार पुन र रोकाद्वयका बीचमा पहिलेदेखि नै मनमुटाव रहेको थियो र उसले रिसइबी साँध्न योजनाबद्ध तरिकाले आक्रमण गरेको देखिन्छ ।
राति साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाइकलमा चढ्नेबित्तिकै गोली हानेको खुल्न आएको प्रहरीले बताएको छ ।
मृतक राजुको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा परीक्षणका लागि राखिएको छ । गोली हाल्ने कर्णबहादुर भने फरार छन् ।
पुन भागेर कतै जान नपाऊन् भनेर सबै नाका सिल गरिएको पनि प्रउ सिंहले जानकारी दिनुभयो ।
भदौ ६ गते ।