नेपालमा पनि जिका संक्रमणको खतरा

zika virus

काठमाडौँ । नेपालमा पनि जिका संक्रमणको खतरा बढेको छ । विशेषज्ञहरूले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिँदै तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन्।
सानो टाउको भएका बालबालिका जन्मन थालेपछि मात्र यो संक्रमण भित्रिएको थाहा पाउने स्थिति आउनुभन्दा पहिले नै बचाउको रणनीति बनाउन जोड दिएका हुन्। नेपालीहरू कार्यरत मलेसिया तथा सिंगापुरमा जिकाको संक्रमण देखिएपछि विज्ञहरू चिन्तित भएका हुन्।
सिंगापुरमा २१ चिनियाँ, १३ भारतीय तथा ६ बंगलादेशीसहित १ सय १५ जनामा यो संक्रमण देखिएको छ। सिंगापुरबाट मलेसिया फर्केकी एक महिलामा समेत यो संक्रमण देखिएको छ। मलेसियामा करिब ६ लाख नेपाली कामदार छन् भने सिंगापुरमा करिब ११ हजार नेपाली कार्यरत छन्। सिंगापुरमा कार्यरत १३ भारतीय कामदारमा जिका संक्रमणपछि उपचार भइरहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
मुलुकमा डेंगु र चिकनगुनियाको संक्रमण फैलाउने एडिस जातको लामखुट्टे नै जिका संक्रमणका लागि जिम्मेवार मानिन्छ। जिका भाइरसको लक्षण चिकनगुनिया र डेंगुको जस्तै हुन्छ। ‘हामी जिका संक्रमणको अन्यन्त ठूलो जोखिममा छौं, मैले बर्सेनि डेंगु लागेर उपचारका लागि मलेसियाबाट आउने नेपाली कामदारको उपचार गर्दै आएको छु,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा।शेरबहादुरले भन्नुभयो, ‘त्यहाँबाट जिका संक्रमित एक जना यहाँ आए र तिनलाई स्थानीय एडिस एजिप्टी जातको लामखुट्टेले टोक्यो भने एक–दुई हुँदै मुलुकमा नै यो संक्रमण फैलिन सक्छ।’