काठमाडौँ उपत्यकामा १४० भन्दा बढी बिरामीमा हैजा

maitrinews

teku-hospital
काठमाडौँ । उपत्यकामा १४० जनाभन्दा बढीमा हैजा देखिएको छ । गएको असार दोस्रो साता देखिएको हैजा संक्रमणले उपत्यकामा प्रकोपको रुप लिएको हो। उपत्यकाका ललितपुर र काठमाडौंमा त्यसयता १४० भन्दा बढीमा हैजा पुष्टि भइसकेको छ। हिजो मात्र थप तीन नयाँ बिरामीमा हैजाका जीवाणु भेटिएका छन्। पछिल्लोपटक केही दिनअघिसम्म इमाडोल, भैंसेपाटी, जडीबुटीलगायत क्षेत्रबाट बिरामी आइरहेका छन्।
हैजाले केही घन्टामै कडा जलवियोजन गराउने र तत्कालै उपचार नपाए बिरामीको ज्यानै जाने जोखिम हुन्छ। सुविधायुक्त ठाउँ र तत्काल उपचार सम्भव भएकाले उपत्यकामा कसैको ज्यान नगए पनि अधिकांशलाई तीनदेखि चार दिनसम्म अस्पताल भर्ना गरेर उपचार गर्नुपरेको छ।
प्रयोगशालाबाट प्रमाणित हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १ सय १० र काठमाडौंमा ३०, भक्तपुरमा २ र बाँकी स्रोत नखुलेको क्षेत्रमा केस भेटिएका छन्। भदौ पहिलो र दोस्रो साता मात्रै उपत्यकामा ३८ जनामा हैजा प्रमाणित भएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुले जनाएको छ ।