‘तेस्रो झम्सिखेल द ब्रिटिस स्कुल महोत्सव २०७३’ सुरु

ललितपुर, २५ भदौ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज झम्सिखेलमा ‘तेस्रो झम्सिखेल द ब्रिटिस स्कुल महोत्सव २०७३’ सुरु भएकोे छ ।
बिहान ८ देखि सुरु भएको महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झम्सिखेल युवा क्लब र द ब्रिटिस स्कुल काठमाडौँले संयुक्त रुपमा एकदिने महोत्सव आयोजना गरेका हुन् । युवा क्लबले प्रत्येक चार चार वर्षमा महोत्सव आयोजना गर्दै आएको क्लबका अध्यक्ष सन्दन थापा मगरले बताउनुभयो । झम्सिखेलमा नै रहेको ब्रिटिस स्कुल भने काठमाडौँमा स्थापना भएको ५० वर्षका उपलक्ष्यमा महोत्सवमा सहआयोजकका रुपमा सहभागी हुँदैछ ।
विश्व बजारमा झम्सिखेललाई पु¥याउने उद्देश्यले महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस पल्ट गरेका दुई महोत्सवभन्दा अहिले बढीले अवलोकन गर्ने अझै बढ्ने विश्वास लिएका छौँ ।”
विसं २०६४ मा ३८ हजार र २०६८ मा ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गरेका थिए । महोत्सव बिहान ८ बजे सुरु भएर साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा म्याराथुन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिने छ । क्लबलाई सी डिभिजनबाट बी डिभिजनमा पु¥याउन योगदान गर्ने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ ।
महोत्सवमा लोकदोहोरी गीत, लोकनाच, नेवारी संस्कृति झल्कने बाजागाजा र ब्रिटिस रक पप ब्यान्डको प्रस्तुति हुनेछ । खानासँगै बालबच्चाका मनोरञ्जन कक्ष महोत्सवको आकर्षण रहेको क्लबका सहसचिव दान थापा मगरले बताउनुभयो ।