सुदूरपश्चिमका पहाडी जिल्लामा बिरामीले सिटामोल पनि पाएनन्

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा ठूला ठूला सुधारका सपना बाँडे पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने सिटामोललगायत अत्यावश्यक औषधि अभाव भएको छ । अत्यधिक माग भए पनि नहुँदा बिरामी सास्ती भोग्न बाध्य छन्। औषधि आपूर्ति ठेक्कामा ढिलाइ हुँदा अभाव चर्किएको हो।
गत वर्ष नाकाबन्दीले आपूर्ति हुन सकेन। योपटक आर्थिक वर्षको ३ महिना बित्न लाग्दा पनि औषधि आपूर्तिको ठेक्का प्रक्रिया सुरु नै नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एक अधिकारीले जानकारी दिए। स्वास्थ्य चौकीबाट ४०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निस्शुल्क दिने व्यवस्था छ। तर, बिरामीले जिल्ला अस्पतालबाट सिटामोलसमेत उपलब्ध नहुने गुनासो गरे।
दैनिक जसो पहाडी जिल्लाबाट सिटामोल, मेट्रो निडाजोल र आयोसिनलगायत औषधिको माग आउँछ। तर, आपूर्ति गर्ने धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोर नै रित्तो छ। ‘केही समयअघि इमर्जेन्सी सप्लाइ भएको हो,’ स्टोर प्रमुख लक्ष्मीराज श्रेष्ठले भन्नुभयो , ‘स्टोरमा कोटाअनुसार कुनै औषधि छैन।’
क्षेत्रीय मेडिकल स्टोरमा एक जिल्लालाई पुग्ने सिटामोलसमेत मौज्दात छैन। तत्काल केन्द्रवाट औषधि आउने सम्भावना समेत नरहेको श्रेष्ठको भनाइ छ। अघिल्लो वर्षदेखि नै मागअनुसार आपूर्ति नहुँदा अभाव भएको बैतडीस्थित स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लास्तरमै खरिदका लागि टेन्डर भए पनि प्रक्रियामै २ महिना लाग्ने भएको छ।
अभाव भएपछि क्षेत्रीय मेडिकल स्टोरबाट मगाएर केही दिनका लागि गाउँमा औषधि पठाइसकेको जिल्ला स्वास्थ्य प्रमुख डा। गुणराज अवस्थीले बताउनुभयो । ‘