परराष्ट्रमन्त्री महत चढेको विमानको पाङग्रा पड्कियो,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टा बन्द

काठमाडौँ । भारतको राजधानी दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । सो विमानमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत रहनुभएको बताइएको छ ।

अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको छ ।
जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १२ बजेर ५० मिनेट आसपासदेखि विमानस्थल बन्द गरिदिएको छ । विमानको पाङ्ग्रा पड्किएपछि एकघन्टा सम्म विमानस्थल बन्द गरिएको थियो ।

‘जहाजलाई तानेर पार्किङ–वेमा ल्याउने प्रयास गर्दै छौं,’ विमानस्थल स्रोतले भन्यो । यात्रुलाई ट्याक्सी(वेबाटै र्‍यामबसले निकालेर टर्मिनलतर्फ ल्याइसकेको छ । लुम्बिनी नाम भएको यो जहाजको यात्रु क्षमता १ सय ५८ हो ।
जहाजका सबै सिटमा यात्रु रहेको बताएको छ । दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।