नर्भिक अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको नयाँ शल्यक्रिया सेवा सुरु

maitrinews

norvic

काठमाडौँ । नर्भिक अस्पतालले अन्तर्राष्ट्रिय स्तरको नयाँ शल्यक्रिया सेवा सुरु गरेको छ । अब नेपालीहरु गम्भीर रोगको उपचारका लागि विदेश जान नपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा देखिएका स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील भएको बताउनुभएको छ ।

आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अत्याधुनिक तथा सङ्क्रमणरहित प्रविधिबाट निर्माण भएको ‘लुन–गङ्गा अपरेटिङ सुइट्स’ को उद्घाटन गर्दै मन्त्री महराले स्वास्थ्य क्षेत्रको विकासको लागि नीतिगत सुधार गर्नेतर्फ सरकार लागेको उल्लेख गर्नुभयो ।

नर्भिकले सुरु गरेको अन्तर्राष्ट्रिय स्तरको शल्यक्रिया सेवाले नेपालका मात्र नभई बाहिरी देशका बिरामी पनि लाभान्वित हुने मन्त्री महराले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले निकट भविष्यमा विश्वस्तरीय प्रविधि प्रयोग गरी २०० श्ययाको भवन, १०० श्ययाको क्यान्सर उपचारको लागि अत्याधुनिक सुविधा सम्पन्न भवन यसै वर्षदेखि सुरु गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले आम नेपालीले आफ्नै घरदैलोमा विश्वस्तरीय उपचार पाउनुपर्ने अवधारणासहित अस्पतालले दुई महिनामा आइभिएफ सेन्टर र हेमोडाइलासिस सेन्टर सुरु गर्नेछौँ ।”
सरकारले स्वास्थ्यका अत्याधुनिक प्रविधि भित्र्याउँदा लगाउने करले उपचारलाई महँगो बनाएकाले यस्तो करको छुट हुनुपर्ने माग गर्नुभयो ।
आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।
उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।”

norvicot3

भदौ २९ गते ।