प्रचण्डको राष्ट्रघातमा काँग्रेसको मौन हाँसो रहस्यमय, काँग्रेस पनि प्रचण्डसँगै सती जान खोजेको त होइन ?

maitrinews

prachanda-deuba
आर शर्माबाट—
काठमाडौं । विगतका गल्ती सच्याउने, सबैलाई मिलाउने र मुलुकलाई निकास दिने भन्दै काँग्रेससँग नयाँ गठबन्धन गरी सरकार बनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती काम गरी चरम विवादमा पर्नुभएको छ । नेपालको इतिहासमै नेपाललाई भारतपरस्त र कमजोर बनाउने काम गर्नुभएका प्रचण्डको अहिले चौतर्फी विरोध र आलोचना भइरहँदा पनि मुलुकको जिम्मेवार प्रमुख पार्टी नेपाली काँग्रेस भने मौन छ ,मौनतापूर्वक हाँसीरहेको छ । प्रचण्डले देश र जनताको हित विपरीत काम गर्दा पनि काँग्रेस किन बोल्न सकेन ? काँग्रेस किन मौन छ ? सर्वत्र यही प्रश्न उठेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड नेतृत्वको वर्तमान सरकारका विवादास्पद कामका विषयमा काँग्रेसले मुख नखोल्नु कतै काँग्रेस पनि प्रचण्डसँगै सती जान खोजेको त होइन भनी काँग्रेस नेतृत्वको पनि काँग्रेसभित्रबाटै चर्को आलोचना हुन थालेको छ ।
सरकारको नेतृत्व गरेका कारण प्राविधिक रुपमा र प्रत्यक्षमा माओवादीले सरकारका कामको जस अपजस लिनु परे पनि ठूलो दल भएका कारण वर्तमान सत्ता गठबन्धनको सञ्चालक भएको नाताले कांग्रेस पनि जसअपजसको भागिदार हुनुपर्छ । कि त आफ्नो स्पष्ट असहमति राख्न सक्नुपर्छ नत्र गलत काम माओवादीलेमात्र गरेको हो भनी अब काँग्रेस चोखिन पाउँदैन ।

प्रचण्ड सरकार गठन यताका विवादास्पद काममाथि सिंगो देश प्रतिक्रियामा ध्रुविकृत भएका बेला सरकारको सञ्चालक कांग्रेसले भने ती सबै विषयमा मौनता साँधेर रमिते बनेको छ । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेसले लोकतन्त्रका आधारभूत मान्यतामाथि,मुलुकको राष्ट्रिय अस्मिता र स्वतन्त्रतामाथि नै गम्भीर आँच आउने काम गर्दा समेत किन मौन भएको छ ?

प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्ति, लडाकु शिविरमा भएको अर्वौको भ्रष्टाचार प्रकरणमा शक्ति पृथकीकरणको सिद्धान्त विपरित प्रधानमन्त्री प्रचण्डले खुलेआम रुपमा दिएको अभिब्यक्ति तथा ब्यवहार अख्तियार प्रमुख प्रकरण साथै भूकम्पपछिको पुनर्निर्माणको काम रोकिएका विषयमा आम नागरिक नै बहसमा उत्रेका बेला प्रमुख सत्तारुढ कांग्रेस भने रहस्यपूर्ण रुपमा मौन छ ।
प्रचण्डका पछिल्ला गतिविधिमा सत्ता साझेदार भएका नाताले काँग्रेसले पनि त्यसको भागिदार बन्नुपर्छ । प्रचण्डका विवादस्पद काममा काँग्रेसको समर्थन छ कि छैन ? जनतालाई समयमै सूचित गर्नैपर्छ ।
प्रचण्डबाट राष्ट्रघाती काम भयो भनी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमात्रै होइन भारतपरस्त भनिने डा.बाबुराम भट्टराईदेखि उपेन्द्र यादव र मोहन बैद्यलेसमेतले विरोध गरेका छन् । स्वयं प्रचण्डको पार्टीमासमेत प्रचण्डले भारतसँग गरेको सहमतिको विरोध भएका बेला काँग्रेसले मुख नखोलेकोमा काँग्रेस नेतृत्वप्रति काँग्रेस कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । काँग्रेस नेतृत्वले यो विषयमा कहिले मुख खोल्ने ? यस्ता गम्भीर विषयमा काँग्रेस स्पष्ट हुन पर्छ कि पर्दैन ? चौतर्फी औँला ठडिन थालेका छन् । काँग्रेसको धारणा र दृष्टिकोण के हो ? कि त प्रचण्डको बोली र व्यवहार नै हाम्रो बोली र व्यवहार हो भनी काँग्रेस नेतृत्वले भन्नु पर्यो होइन भने आफ्नो फरक धारणा सार्वजनिक गर्नुपर्यो । आम जनताले काँग्रेसको आधिकारिक धारणाको व्यग्र प्रतीक्षामा छन् ।