सुर्खेतमा ४६औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप सुरु, १० किमी दौडमा राजन र सन्तोषी प्रथम

सुर्खेत, ५ असार । सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि ४६औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप, २०८३ सुरु भएको छ। नेपाल एथ्लेटिक्स सङ्घको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को संयोजनमा सञ्चालित उक्त प्रतियोगिताको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवबिक्रम शाहले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहले कर्णाली प्रदेशलाई खेलकुदको केन्द्र बनाउने लक्ष्य अनुरूप पहिलोपटक यहाँ राष्ट्रियस्तरको एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गरिएको बताउनुभयो।

यस्तै, प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले रङ्गशालाको नयाँ ट्रयाक र फिल्डको प्राविधिक परीक्षणका लागिसमेत यो खेलकुद महत्वपूर्ण माध्यम बनेको जानकारी दिनुभयो। सङ्घकी केन्द्रीय उपाध्यक्ष कोमल ओलीले कर्णालीले जुम्लाका कीर्तिमानी धावक हरि रोकाय (हिमचितुवा) जस्ता प्रतिभावान् खेलाडी जन्माएको चर्चा गर्दै देशभरिका खेलाडीहरूलाई स्वागत गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ कुल २८ विधाहरू (इभेन्ट) समाविष्ट छन्। यस च्याम्पियनसिपमा सातवटै प्रदेश तथा तीन विभागीय टोलीहरू (नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीको पुलिस क्लब) गरी कुल १० टोलीका २४० खेलाडीहरू (१२० महिला र १२० पुरुष) सहभागी छन्। उनीहरूले २८ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको पहिलो दिन आज भएको १० किलोमिटर दौडतर्फ पुरुष विधामा त्रिभुवन आर्मी क्लबका राजन रोकाय र महिला विधातर्फ बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको छ। च्याम्पियनसिपका विजेता खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।