नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कविता महोत्सव–२०८३’ स्थगित, पदाधिकारी नहुँदा प्रशासनिक काम प्रभावित

काठमाडौँ, ५ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको ‘राष्ट्रिय कविता महोत्सव–२०८३’ तत्कालका लागि स्थगित गरेको छ। यही असार ९ गते आयोजना गर्ने गरी तय भएको उक्त राष्ट्रिय महोत्सव विशेष प्रशासनिक कारणले स्थगित भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सुमन अधिकारीका अनुसार अर्को सूचना जारी नहुँदासम्म महोत्सवका लागि पठाइएका कविताहरू अन्य सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न सर्जकहरूलाई आग्रह गरिएको छ। प्रज्ञा प्रतिष्ठानले गत वैशाख १६ गते सार्वजनिक सूचना जारी गर्दै महोत्सवका लागि देशभरिका कविहरूबाट कविता आह्वान गरेको थियो।

प्रतिष्ठानको भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले प्राज्ञ परिषद् रिक्त रहेका कारण कविता छनोट समिति गठन लगायतका आवश्यक प्रशासनिक कार्यहरू सम्पादन गर्न नसकिएकाले महोत्सव स्थगित गर्नुपरेको जानकारी दिनुभयो।

हाल प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्यसचिव लगायतका कार्यकारी पदाधिकारीहरूको पद रिक्त छ। नयाँ पदाधिकारीहरूको नियुक्ति भएपछि मात्र महोत्सवको नयाँ कार्यतालिका र प्रक्रिया अघि बढ्ने बुझिएको छ।