प्रधानमन्त्री दाहालका गतिविधिप्रति सत्तासाझेदार काँग्रेसमा व्यापक असन्तुष्टि, केन्द्रीय समितिको बैठक बोलाउन देउवाको ध्यानाकर्षण

काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेस प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेको छ । दाहालको विवादास्पद भारत भ्रमण र सरकार संचालनमा माओवादीले एकलौटी गरेको भन्दै धारणा स्पष्ट गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यथाशीघ्र पार्टी केन्द्रीय समिति बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।
पौडेलको सम्पर्क कार्यालय अनामनगरमा पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले संविधान संशोधन, दाहालको विवादास्पद भारत भ्रमण, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी गराउनुभयो । बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको छ ।
बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए ।
बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको छ । त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताएका थिए ।
सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्रले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न गरेका थिए ।
असोज ९ गते ।