असंलग्न तथा स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रचण्ड सरकारले आँच पुर्याएको एमालेको निष्कर्ष

amale-party-karyalaya
काठमाडौँ । नेकपा (एमाले) को सातौँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । असोज ५ गतेबाट सुरु बैठक मंगलबार सम्पन्न भएको हो । बैठकले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ सञ्चालन गर्ने निर्णय गरेको छ । १६ बुँदे प्रस्तावसहित सम्पन्न बैठकले प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणका सन्दर्भमा भएका कतिपय विवादास्पद भेटघाट तथा अभिव्यक्ति एवम् भ्रमणको अवसरमा जारी संयुक्त वक्तव्यका कतिपय प्रावधानले नेपालको आन्तरिक मामला तथा नेपालले विगतदेखि अवलम्बन गर्दै आएको असंलग्न तथा स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पु¥याएको निष्कर्ष निकालेको छ ।
त्यसैगरी बैठकले वर्तमान सरकारको गठनसँगै पूर्ववर्ती सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान कार्यान्वयन कार्ययोजना एवं कार्यतालिकालाई लत्याइएको भन्दै अर्को कार्ययोजना र कार्यतालिका पनि प्रस्तुत नगर्नुले संविधान कार्यान्वयन नगर्ने नियत देखिएको निष्कर्ष निकालेको छ । ‘यसले निर्धारित समयसीमाभित्र निर्वाचन हुन नसक्ने र मुलुकमा गम्भीर संवैधानिक–राजनीतिक शून्यता प्रकट हुन सक्ने खतरा बढ्दै गएको छ,’ प्रस्तावमा भनिएको छ । यस्तो छ १६ बुँदे प्रस्तावः
१. केन्द्रीय कमिटीको यो बैठक अत्यन्त बिषम परिस्थितिमा मुलुकको नेतृत्व सम्हालेको अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नाकाबन्दी र तराई– मधेसमा उत्पन्न असहज अवस्थालाई साम्य पार्न सफल भएको, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताको मान्यतामा उभिएर छिमेकी मुलुकसँग पारस्परिक हित, राष्ट्रिय स्वाभिमान, एकता र सार्वभौमिकताका आधारमा नयाँ सम्बन्ध विकसित गरेको, भू–परिवेष्ठित मुलुकको समुद्रसम्म पुग्न पाउने अन्तर्राष्ट्रिय अधिकार कार्यान्वयनका लागि चीनसँग पारवहनसम्बन्धी सम्झौता सम्पन्न गरेको, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितको दृढ पक्षपोषण गर्दै मुलुकको शिर उँचो तुल्याएको र नीति तथा कार्यक्रम र बजेटमार्फत कैयौँ नयाँ, आवश्यक र मुलुकको आर्थिक विकास र समृद्धिका दिशामा कोशेढुंगा सावित हुने योजनाहरू अघि सारेर जनपक्षीय श्रेष्ठता स्थापित गर्न सफल भएकोमा सिङ्गो पार्टी गौरववोध गर्दछ र केन्द्रीय कमिटीको यो बैठक यस महत्वपूर्ण भूमिकाका लागि पार्टी अध्यक्ष, उहाँको नेतृत्वको मन्त्रिपरिषद् तथा सबै सहयात्री दल र प्रतिकूल अवस्थामा पनि सरकारलाई साथ–समर्थन दिने आम नागरिकलाई धन्यवाद ज्ञापन गर्दछ ।
२. प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा हालै गरिएको भारत भ्रमणका सन्दर्भमा भएका कतिपय विवादास्पद भेटघाट तथा अभिव्यक्ति एवम् भ्रमणको अवसरमा जारी संयुक्त वक्तव्यका कतिपय प्रावधानले नेपालको आन्तरिक मामला तथा नेपालले विगतदेखि अवलम्बन गर्दै आएको असंलग्न तथा स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पु¥याएको कुराप्रति नेकपा (एमाले) गम्भीर भएको छ । संविधानसँग सम्बन्धित बिषयलाई द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको बिषय बनाएर वर्तमान सरकारले नेपालको आन्तरिक मामलामा वाह्य संलग्नतालाई प्रोत्साहन दिने काम गरेको छ भने प्रमुख अन्तर्राष्ट्रिय बिषयहरूमा भारतसँग समान धारणा राख्ने प्रावधानले नेपालको स्वतन्त्र विदेश नीतिलाई सीमित र पराश्रित बनाउने प्रयास गरेको छ । दुई पक्षीय सहयोगमा सञ्चालित परियोजनाहरूको अनुगमन गर्न नेपाल सरकार र भारतीय दूतावासको संयुक्त संयन्त्र बनाउने कुरा पनि अनुपयुक्त छ । उपरोक्त बिषयमा गम्भीर असहमति प्रकट गर्दै यो बैठक भारतसँग पाइप लाइनसम्बन्धी सम्झौता गर्दा त्यसका कुनै पनि प्रावधानले नेपालको व्यापार विविधिकरणको नीति र स्वतन्त्र व्यापारको अधिकारलाई कुण्ठित नगरोस् भन्ने कुरामा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।
३. वर्तमान सरकारको गठनसँगै पूर्ववर्ती सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान कार्यान्वयन कार्ययोजना एवं कार्यतालिकालाई लत्याइएको छ र अर्को कार्ययोजना र कार्यतालिका पनि प्रस्तुत गरिएको छैन । यसले निर्धारित समयसीमाभित्र निर्वाचन हुन नसक्ने र मुलुकमा गम्भीर संवैधानिक–राजनीतिक शून्यता प्रकट हुन सक्ने खतरा बढ्दै गएको छ । यो बैठक सरकार समक्ष दलहरूसँगको परामर्शबाट अविलम्ब तीनै तहको निर्वाचनको कार्यतालिका प्रस्तुत गर्न, निर्वाचनका लागि आवश्यक कानुनहरूको तर्जुमा तीव्र गतिमा गर्न र निर्वाचनको तयारीलाई तीव्रता दिन माग गर्दछ ।
४. सबै वर्ग, तह, समुदाय र क्षेत्रका जनताका अधिकार संस्थागत गर्ने नेपालको संविधान कार्यान्वयन गर्दै सङ्क्रमणकाल अन्त्य गर्न केन्द्रित भएर लाग्नुको साटो कुनै औचित्य, आधार र आवश्यकता स्पष्ट नगरी तथा संविधान निर्माणमा अग्रणी भूमिका खेल्ने प्रमुख पार्टी नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरूसँग कुनै परामर्श नगरी गरिएको संविधान संशोधनको प्रचारप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । संविधान गतिशील दस्ताबेज भएता पनि बिना औचित्य र राष्ट्र एवं जनताको हित प्रतिकूल संविधान संशोधन हुन नसक्नेतिर सम्बद्ध सबैको ध्यानाकर्षण गर्दै यस सम्बन्धमा एकपक्षीय रूपमा कुनै काम नगर्न सरकारसँग माग गर्दछ ।
५. यो बैठक राजनीतिक सहमति र समझदारीमा प्रतिकूल प्रभाव पार्दै पूर्ववर्ती सरकारको कार्यकालमा बनाइएका नीतिहरू परिवर्तन गर्ने, निर्णयहरू उल्ट्याउने र नियुक्तिहरू बदर गर्ने जस्ता कामहरू नगर्न र मुलुकलाई असमझदारी, असहमति र धु्रवीकरणको दिशामा लैजाने काम तत्काल बन्द गर्न माग गर्दछ । त्यसै गरी पूर्वाग्रहको आधारमा कर्मचारीहरूको सरुवा गर्ने र स्थापित परम्परालाई लत्याउने काम नगर्न पनि माग गर्दछ ।
६. यो बैठक मित्र राष्ट्र भारत र चीनसँग पूर्ववर्ती सरकारले गरेका सम्झौताहरूलाई समयवद्ध तालिका निर्माण गरेर प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ । राष्ट्रिय हित तथा मुलुकको सन्तुलित वाह्य सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने कुनै पनि काम नगर्न यो बैठक सरकारलाई सचेत गर्न चाहन्छ ।
७. यो बैठक दण्डहीनतालाई प्रश्रय दिने गरी टीकापुरलगायत विभिन्न गम्भीर प्रकृतिका आपराधिक घटनामा संलग्नहरूलाई उन्मुक्ति दिने कुनै पनि काम नगर्न, विधिको शासनको परिपालना गर्न र सुरक्षा निकायहरूको मनोबल कमजोर गर्ने कुनै पनि गतिविधि नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।
८. यो बैठक पार्टी केन्द्रीय कमिटीबाट पारित चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ लाई प्रभावकारी ढङ्गले सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्दछ ।
९. यो बैठक केन्द्रीय कमिटीको यसै बैठकबाट पारित १० बुँदे विशेष प्रस्तावको भावना र मर्म अनुरूप पार्टीको आन्तरिक जीवनलाई थप सुदृढ, व्यवस्थित र संस्थागत गर्दै आउने दिनका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्न सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्दछ ।
१०. व्यवस्थापिका–संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचाराधीन ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ विधेयकलाई अनेकौं बहानाबाजी गर्दैै फिर्ता लिने भन्दै पूर्व प्रधानमन्त्री एवम् मुलुककै प्रतिष्ठित राजनीतिज्ञ मनमोहन अधिकारीको नामलाई अपमान गर्ने प्रयाश भइरहेको कुराप्रति यो बैठक खेद व्यक्त गर्दछ र सो विधेयकलाई तत्काल संसदबाट पारित गर्न सरकारसँग माग गर्दछ ।
११. यो बैठक दशैं, तिहार, छठ, नेपाल सम्बत् नयाँ बर्ष, ल्होसार, उँधौली र इद् (भर्खरै सम्पन्न) लगायत महत्वपूर्ण सांस्कृतिक चाडहरूको सन्दर्भमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
१२. नेपाली जनताका महान चाडहरू नजिकिंदै गर्दा बजार भाउ आकासिने, कृत्रिम अभाव सिर्जना हुने, सवारी साधन अपुग भई यात्रुहरू चाडबाडका बेलामा पनि घर फर्कन नपाउने जस्ता समस्याहरूप्रति यस बैठकको गम्भीर ध्यान गएको छ । बैठक सरकारलाई आपूर्ति व्यवस्थाको प्रभावकारी प्रत्याभूति गर्न, मूल्य नियन्त्रण गर्न र सवारी साधनको अभावले सर्वसाधारणले भोगिरहेको समस्याको तत्काल समाधान गर्न ध्यानाकर्षण गर्दछ । अत्यन्त व्यस्त रहने मुग्लिन– नारायणगढ सडकलाई अविलम्ब स्तरोन्नत गर्न माग गर्दछ ।
१३. विगतको संवैधानिक एवम् कानुनी व्यवस्था बमोजिम जन्मसिद्ध नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिका सन्तानहरुलाई सहज रुपमा नागरिकता उपलब्ध गराउन प्रचलित कानुनमा कुनै व्यवधान नरहेको हुँदा त्यस्ता नागरिकका सन्तानहरुलाई नेपालको नागरिकता उपलब्ध गराउन र गैरकानुनी ढंगले त्यस्तो नागरिकता लिएका व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गरी नागरिकता रद्ध गर्न यो बैठक सरकारसमक्ष माग गर्दछ ।
१४. यो बैठक नेपाल सरकारका पूर्वमुख्य सचिव एवं पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे सवार गाडी दुर्घटना भएकोमा गहिरो दुख व्यक्त गर्दछ । उहाँलगायत वेपत्ता अन्य व्यक्तिहरूको तत्काल प्रभावकारी ढङ्गले खोजी र उद्धार गर्न सरकारसँग माग गर्दै उक्त सवारी दुर्घटनामा ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
१५. यो बैठक केन्द्रीय कमिटीका उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्यका पिता तीर्थबहादुर शाक्य, वैकल्पिक सदस्य कमरेड मनाकुमारी केसीका छोरा सुशील जीसी, केन्द्रीय कमिटीका वैकल्पिक सदस्य कमरेड लक्ष्मी पोखरेलका माता धनरूपा पोखरेल र बैकल्पिक केन्द्रीय सदस्य देवशंकर पौडेलका पिता तेजप्रसाद पौडेलको दुःखद निधनप्रति गहिरो दुख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । त्यसरी नै, केन्द्रीय लेखा आयोगका सदस्य कमरेड खम्ब खत्रीकी आमा दुर्गादेवी खत्री निरौला, सोही विभागका सदस्य कमरेड ईश्वरी खरेलका छोरा डा. पुकार खरेल, विदेश विभागका सचिव कमरेड यादव शर्माका पिता देवीभक्त चौलागाईं, विदेश विभागका सदस्य कमरेड केशव वस्याल र कानुन विभाग सदस्य कमरेड रक्षा बस्यालका पिता रुक्मांगद बस्याल र पार्टीका अग्रज आश्रयदाता कमरेड सिसाराम पाठकको निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।
१६. धादिङवेसीबाट लपाङफेदी जाँदै गरेको ना.३ ख ३३१८ नं को यात्रुबाहक बस आज बिहान ११.४५ बजे मार्पाक– ६ लपाङफेदीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको र १३ जना घाइते भएको घटनाप्रति बैठक गहिरो दुख व्यक्त गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।