आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँ, १९ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो मुलुकका पहाडी तथा हिमाली भेगका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। तराईका जिल्लाहरूमा पनि मौसम बदली भई मध्यम वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि राति वर्षाको सम्भावना छ।

महाशाखाले विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै ‘अलर्ट’ जारी गरेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो र गेग्र्यान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसका साथै मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन तथा सडक यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को सुझाव छ।