काठमाडौँ महानगरमा विपद्का घटनामा उल्लेख्य कमी: तार व्यवस्थापन र पूर्वतयारीले ल्यायो सुधार
काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका (कामपा) मा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष विपद्का घटनामा कमी आएको छ। महानगरले चालेको तार व्यवस्थापन अभियान र विपद् पूर्वतयारीका कारण दुर्घटनाको सङ्ख्यामा गिरावट आएको हो।
महानगरको विपद् व्यवस्थापन विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा महानगरभित्र ४२५ वटा विभिन्न शीर्षकका विपद्का घटना दर्ता भएका थिए। तर, चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा यो सङ्ख्या घटेर ३४७ मा सीमित भएको छ।
महानगरमा हुने विपद्मध्ये सबैभन्दा बढी हिस्सा आगलागीको रहेको छ। विशेषगरी विद्युतीय पोलमा रहेका अव्यवस्थित तारका कारण हुने आगलागीका घटना न्यूनीकरण गर्न महानगरले हाल ३२ वटै वडामा विशेष अभियान चलाइरहेको छ।
विभागका प्रमुख अनिरुद्र नेपालले भन्नुभयो, “अहिले चारवटा समूह परिचालन गरेर केवल प्रदायक र नगर प्रहरीको सहयोगमा तीव्र रूपमा तार व्यवस्थापन भइरहेको छ। यसले पोलमा तार ठोक्किएर हुने आगलागीका घटनामा ठूलो कमी ल्याएको छ।”
यसका साथै, महानगरले दमकल सेवालाई विकेन्द्रीकृत गरेको छ। विगतमा एक स्थानबाट मात्रै सेवा दिँदै आएकोमा हाल तीन फरक स्थानबाट दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटो पुग्न सहज भएको महानगरको दाबी छ।
महानगरले ग्यास चुहावटका कारण हुने दुर्घटना रोक्न टोल–टोलमा जनचेतना कार्यक्रम अघि बढाएको छ। म्याद गुज्रेका सिलिन्डर, पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा हुने जोखिमबारे नागरिकलाई सचेत गराइएकाले पनि घटनामा कमी आउने विश्वास लिइएको छ।
वर्षायाम सुरु भएसँगै हुनसक्ने डुबान र बाढीलाई लक्षित गरी महानगरले पूर्वतयारीलाई तीव्र बनाएको छ। डुबानमा परेका नागरिकको उद्धारका लागि ४ वटा डुङ्गा (बोट) र आवश्यक मेसिनरी सामान तयारी अवस्थामा राखिएको प्रमुख नेपालले जानकारी दिनुभयो।
महानगरले सुरक्षा निकायको समन्वयमा हालै मात्र कृत्रिम अभ्यास (मकि ड्रिल) सम्पन्न गरेको छ भने उद्धारपछि आवश्यक पर्ने त्रिपाल लगायतका राहत सामग्रीको समेत जोहो गरिसकेको छ।
विपद्का घटना घटे पनि बढ्दो सहरीकरण र ढलान प्रक्रियाका कारण समस्या अझै कायमै रहेको महानगरको ठम्याइ छ। सरोकारवाला निकायबीच समन्वयबिना नै सडक खन्ने र पुर्ने कार्यले नदीजन्य विपद् र डुबानको जोखिम बढाएको विभागले जनाएको छ।
महानगरले आगामी दिनमा पनि सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रविधि र जनचेतनाको माध्यमबाट विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।