म्याड्रिडलाई जिताउन सकेन रोनाल्डोको गोलले

maitrinews

football

वेस्टफलेनस्टाडियन । क्रिस्टियानो रोनाल्डोले खेल सुरु भएको १७ मिनेटमै गोल गरे पनि रियल म्याड्रिडले बोरुसिया डर्टमुन्टविरूद्ध च्याम्पियन्स लिगको समूह ‘एफ’ अन्तर्गतको दोस्रो खेल जित्न सकेन्।
इङ्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर आन्द्रे च्युरेलले अन्तिम समयमा गरेको गोलका कारण म्याड्रिड दोस्रो खेलमा २–२ गोलको बराबरीमा रोकिनु पर्यो। आन्द्रेलाई यही सिजन बोरुसियाले उल्सवर्गबाट भित्र्याएको थियो। उनको लिगमा दोस्रो गोल हो।
म्याड्रिडका अघिल्ला दुई प्रशिक्षक कार्लोस एन्सिलोटी र जासे माउरिन्होले बोरुसियालाई उसको घरमा हराउन नसकेको इतिहासलाई उल्ट्याउन जिनेदिन जिदानका सेना वेस्टफलेनस्टाडियनमा उत्रिएका थिए। आइतबार प्रिमेरा लिगाअन्तर्गत लास पाल्मासविरूद्धको खेलमा अन्तिम २० मिनेटमा रोनाल्डोलाई टोलीबाट निकालेको घटनामा आलोचना खेपिरहेका प्रशिक्षक जिदानले बोरुसियाविरूद्ध विशेष तयारीका साथ आफ्नो स्टार स्ट्राइकरलाई उतारेका थिए।
गारेथ बेलको पासमा रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा आदिपत्य राख्ने आशा गरिएको थियो। तर, ४३ मिनेटमा पेरी–इम्रिक उबामेयाङले म्याड्रिडका गोलरक्षक केलोर नाभासको गल्तीको फाइदा उठाउदै गोल गरेपछि पहिलो हाफमै घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा राखेको थियो।
दोस्रो हाफको ६८ मिनेटमा राफायल भार्नेले म्याड्रिडलाई पुनः अग्रता दिलाएका थिए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा आन्द्रेले गोल गर्दै जिदानको आशामा पानी फेरे।
जिदानको प्रशिक्षणमा म्याड्रिडले पछिल्लो तीन खेलमा तीनवटैमा बराबरीमा चित्त बुझाउनु परेको छ।