अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी: “युद्ध सुरु भए इरानको अस्तित्व समाप्त हुनेछ”

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो सैन्य आक्रामकताले उसको आफ्नै अस्तित्व सङ्कटमा पार्ने चेतावनी दिनुभएको छ। शनिबार कडा चेतावनी जारी गर्दै राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकालाई पुनः युद्ध सुरु गर्न बाध्य पारिएमा ‘इस्लामिक रिपब्लिक अफ इरान’ को अस्तित्व सधैँका लागि समाप्त हुने उल्लेख गर्नुभएको हो।

यो चेतावनी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गमा इन्धन ढुवानी गरिरहेको पानामाको मालवाहक जहाजमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा गरेको हवाई आक्रमणलगत्तै आएको हो।

इरानले शान्ति सम्झौताको गम्भीर उल्लङ्घन गरेको दाबी गर्दै अमेरिकी वायुसेनाले शनिबार इरानका विभिन्न भागमा रहेका मिसाइल, ड्रोन र तटीय राडार भण्डारण स्थलहरूलाई लक्षित गरी जवाफी हवाई आक्रमण गरेको थियो।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामीले जति नै तर्कसङ्गत र शान्तिप्रिय हुन खोजे पनि एउटा यस्तो विन्दु आउन सक्छ, जहाँ हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको कामलाई अन्तिम रूप दिन बाध्य हुनुपर्नेछ। यदि त्यसो भयो भने, ‘इस्लामिक रिपब्लिक अफ इरान’ को अस्तित्व अब रहने छैन!”

यसअघि कूटनीतिक सम्झौताको घोषणा भए पनि होर्मुज जलमार्गमा लगातार भएका झडप र यो पछिल्लो अमेरिकी आक्रमणले मध्यपूर्वमा पुनः तनाव उत्कर्षमा पुर्‍याएको विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *