अमेरिकी संसदले पारित गरेको नयाँ कानुनप्रति साउदी अरबको आपत्ति

साउदी अरब । साउदी अरेबियाले सन् २००१ सेप्टेम्बर ११ का आतंकवादी हमलाका पीडित परिवारले आफ्ना अधिकारीविरुद्ध मुद्दा हाल्न मिल्ने कानुन अमेरिकी संसदले पारित गरेपछि त्यसप्रति गहिरो चासो व्यक्त गरेको छ।
उक्त कानुन पारित भएको एक दिनपछि अमेरिकी संसदका रिपब्लिकन सदस्यहरुले पनि त्यसमाथि पुनर्विचार गर्न आफूहरुले चाहेको बताएका छन्।
साउदी विदेश मन्त्रालयले नयां अमेरिकी कानुनका कारण सोभरेन इम्युनिटी अर्थात् कुनै सार्वभौम मुलुकले कानुनी गल्ती नगर्ने र सार्वजनिक मुद्दा तथा फौजदारी कारबाहीबाट उसलाई छुट हुने कानुनी मान्यता धरापमा पर्ने बताएको छ।
त्यसले अमेरिकासहित सबै मुलुकलाई नकारात्मक असर पार्ने साउदी विदेशमन्त्रालयको वक्त्वयमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि नयां कानुनका कारण आफ्ना फौजहरु विदेशमा कानुनी दायरामा आउन सक्ने भन्दै त्यससम्बन्धी विधेयक रोक्न विशेषाधिकार भिटो प्रयोग गर्नुभएको थियो ।
तर उक्त भिटोलाई बिहीबार अमेरिकी संसदले अस्वीकार गरेपछि साउदी अधिकारीविरुद्ध मुद्दा हाल्न बाटो खुलेको थियो।
त्यसको एकदिनपछि उक्त कानुनलाई समर्थन गर्ने रिपब्लिकन सांसदहरु नै पुनर्विचार गर्ने पक्षमा देखिएका छन्।
माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले उक्त कानुनको सम्भावित दुष्परिणामबारे सांसदहरुले नबुझेको स्वीकार गर्नुभयो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रिपब्लिकनहरुको उक्त भनाइलाई हतारमा काम गरेर पछुताउनु परेको उदाहरण भनेको छ।
असोज १४ गते ।