प्रचण्डको राष्ट्रघात र भुटानीकरणको विरोध गर्दै भद्रकालीमा डा. भट्टराईको घर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा गएर राष्ट्रघाती काम गरेको भन्दै डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज भद्रकालीमा धर्ना दिएको छ ।
राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै दिइएको धर्नामा भट्टराईसहितका नेताहरुको सहभागिता रहेको छ । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गरेको छ ।
७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ । ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’
नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिएको तर, सरकार रमिते बनेको उसको आरोप छ ।
असोज १४ गते ।