साम्राज्यवाद र विस्तारवाद शब्द संसदबाट हटाउन माओवादी सांसदको माग

काठमाडौँ । माओवादीको मुल मन्त्र कै रुपमा रहेको ‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ शब्द नै संसदको रेकर्डबाट हटाउनुपर्ने मागमाओवादी सांसदले नै गरेका छन् ।
माओवादी केन्द्रका सांसद जनकराज जोशीले साम्राज्यवाद र विस्तारवाद दुवै शब्द नेपालको संविधानको मुल मर्म विपरित भएकाले यस्ता शब्दा संसदको रेर्कडमा पनि रहन नहुने भन्दै सभामुखबाट रुलिङ गर्न माग गर्नुभयो ।
‘छिमेकी देशसँग सीमा विवाद हुँदैमा अर्को देशलाई साम्राज्यवादीको संज्ञा दिनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘भारत र चीनबीच पनि त सीमा विवाद छ । विश्वमा अन्य थुप्रै मुलुक छन् जसको छिमेकी देशसँग सीमा विवाद छ ।’
उहाँले कम्युनिष्टहरुको प्रिय शब्द विस्तारवादको पनि रबिन्सन क्रुसोको भनाइ उद्धृत गर्दै आलोचना गर्नुभयो । ‘विश्वव्यापीकरणको आजको युगमा कोही त्यसबाट अछुतो भएर बस्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हामी विश्वव्यापीकरणबाट अछुत भएर बस्ने हो भने एक्लो सुनसान टापूमा गएर बस्नुपर्छ ।’
सांसद जोशीले संविधानले नेपालको आफ्नै परराष्ट्रनीति रहने बताए पनि नेताहरुले सधैं साम्राज्यवाद र विस्तारवाद जस्ता शब्दको प्रयोग संसदमा गर्नु अनुचित रहेको बताउनुभयो ।
माओवादीहरुले नै यी शब्दलाई अझ व्यापक बनाएका हुन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष लगायताका नेताहरुको हरेक भाषणमा यी शब्दले प्रमुखताका साथ स्थान पाउने गर्छन् ।
असोज १८ गते ।