सार्कको अध्यक्ष नेपालले तटस्थ भूमिका खेल्न सकेन, स्थगित सार्क शिखर सम्मेलन कहिले हुने ?

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको स्थगित १९औँ शिखर सम्मेलन अर्को मितिमा हुने गरी वातावरण तयार पार्नका लागि अध्यक्ष राष्ट्रका रूपमा नेपालले समन्वय र परामर्श अगाडि बढाउनुपर्ने विज्ञले बताएका छन् ।
पाकिस्तानको इस्लामाबादमा कात्तिक २४ र २५ गते बस्ने भनिएको शिखर सम्मेलन भारत र पाकिस्तानबीचको विवादले स्थगित गरिएको छ । तत्कालका लागि सम्मेलन स्थगित भए पनि अर्को बैठक कहाँ र कहिले बस्नेबारेमा नेपाल सरकारले अध्यक्ष राष्ट्रको नाताले परामर्शमा अगुवाइ गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
असोज २ गते भारतको जम्मुकाश्मीरस्थित उरीमा भएको घटनापछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । सोही कारण निर्धारित सार्क सम्मेलन भारत र पाकिस्तानको आग्रहमा स्थगित गरिएको हो । नेपालले घटनाप्रति दुःख व्यक्त गर्नु राम्रो पक्ष भए पनि सबै सार्क सदस्य राष्ट्रसँग निरन्तर समन्वय र परामर्श गर्नु आवश्यक रहेको तर्क विज्ञको छ ।
पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता महेन्द्रबहादुर पाण्डेले नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । सार्क बैठक स्थगितका विषयमा पाँच दिनमा तीनपटक विज्ञप्ति प्रकाशित गरेर सरकारले नाटकीय भूमिका निर्वाह गरेको भनाइ उहाँको छ । अध्यक्ष राष्ट्रको हिसाबले नेपालले तटस्थ भूमिका खेल्नुपर्ने सुझाव उहाँको छ ।
“प्रधानमन्त्री नियुक्त भएपछि भन्दा प्रधानमन्त्रीले अहिले समस्या परेका बेला विशेष दूत पठाउन सक्नुपथ्र्यो”, सरकार यसमा मौन छ भन्दै उहाँले सरकारको कूटनीतिक प्रयास विश्वास लाग्दो हुन नसकेको आरोप लगाउनुभयो । “बैठक स्थगित भए पनि अर्को बैठक कहाँ, कसरी र कहिले गर्ने भन्नेमा नेपाल सरकारले भूमिका निर्वाह गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले बैठक सञ्चालनमा पहलकदमी लिनुपर्ने भए पनि सबै सदस्य राष्ट्रको इमानदारिता र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । “नेपाल अध्यक्ष राष्ट्र हो, बैठक कहिले र कहाँ गर्ने भन्नेमा सक्रियता बढाउनु ठीक हो तर अरू सदस्य राष्ट्रले पनि त्यसमा चासो र सक्रियता जनाउनैपर्छ”, उहाँले भन्नुभयो ।
सार्क बडापत्रका अनुसार आठवटै सदस्य राष्ट्रको हैसियत समान हो, अध्यक्ष राष्ट्रको नाताले उसको पहलकदमी मात्र फरक हो भन्दै उहाँले नेपालले आफ्नो भूमिका निर्वाहमा कञ्जुस्याइँ गर्न नहुने सुझाव दिनुभयो । “भारत र पाकिस्तानको तनाव १९औँ सार्क शिखर बैठकका लागि मात्र होइन, यो समस्या दुई देशबीचको पुरानै भएकाले त्यसको समस्या समाधानमा सबैको इमानदारिता चाहिन्छ”, उहाँले भन्नुभयो ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सार्क शिखर सम्मेलन अहिलेमात्र स्थगित नभएर विगतमा पनि पटकपटक स्थगित हुँदै आएको स्मरण गर्दै अहिले सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले बैठकबारे सहकार्य र परामर्श गर्नुपर्ने जिम्मेवारी रहेकोे तर्क गर्नुभयो । “बैठक विशेष कारणवश स्थगित भयो, स्थगित भयो भन्दैमा चुपचाप बस्नु भएन, नेपालले अर्को बैठकबारे प्रयास जारी राख्नुपर्छ”, उहाँले भन्नुभयो । सार्क गठनमा नेपाल र बङ्गलादेशको भूमिका सबैभन्दा बढी रहेकाले अभिभावकत्व भूमिकामा पनि नेपाल रहेको चर्चा गर्दै विज्ञ श्रेष्ठले भन्नुभयो, “काम गर्दै जाँदा अनेक बाधा अड्चन आउँछन्, अहिले पनि आएको छ, त्यसलाई पन्छाएर समस्या समाधानका लागि पहल नेपालले नै लिनुपर्छ । ”
हरेक वर्ष सार्क बैठक बस्ने सार्कको चार्टरमा व्यवस्था भए पनि अठारौँ सार्क सम्मेलन नेपालमा हुँदा हरेक दुई वर्षमा एकपटक शिखर सम्मेलन गर्ने गरी निर्णय भएको थियो ।
असोज २० गते ।