बाढी र पहिरोका कारण ७ प्रमुख राजमार्ग अवरुद्ध, १२ सडकखण्ड आंशिक प्रभावित
काठमाडौँ, ५ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले सातवटा प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ वटा राजमार्ग आंशिक रूपमा अवरुद्ध भएका छन्। सडक विभागका अनुसार अवरुद्ध भएकामध्ये ५१ वटा सडकखण्ड मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ भने बाँकी सडक खुलाउने प्रयास जारी छ।
सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरो पन्छाउन प्रभावित क्षेत्रमा डोजर, एक्साभेटर र लोडरलगायतका आवश्यक उपकरणहरू परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे पूर्वजानकारी लिन आग्रह गर्नुभएको छ।
नेपाल प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरिखोला तथा भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
यस सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न अनुमति दिइएको छ। मकवानपुरस्थित कान्तिलोकपथमा पनि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त स्थानहरूको निरन्तर निगरानी गरिरहेको र अवरोध भएका सडकहरू तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ।