ककरोच जनता पार्टीका कार्यकर्ता नेपालको जेनजी आन्दोलनको झल्को दिने गरी मिडियाप्रति खनिएपछि…

काठमाडौं, ५ साउन । भारतमा जुलाई २० मा ‘ककरोच जनता पार्टी’ ले संसद मार्चका क्रममा मिडियाप्रति आक्रोश प्रकट गरेको घटनालाई नेपालमा गत वर्ष भदौ २४ मा भएको घटनासँग दाँजेर हेर्न थालिएको छ । भदौ २४ मा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा नेपालको चर्चित मिडिया हाउस कान्तिपुर पब्लिकेशनलाई सबै भन्दा बढी लक्षित गरेर आगजनी गरिएको थियो ।

यतिबेला थापाथलीमा रहेको कान्तिपुर दैनिकको कार्यालयमा आगो लगाएपछि उक्त कार्यालय अहिलेसम्म पनि बस्न मिल्ने अवस्थामा छैन । त्यहाँका सबै काम अहिले तीनकुनेस्थित कार्यालयबाट भैरहेको छ ।

कान्तिपुरलाई नै लक्षित गर्दै आगजनी गर्दा विजेशन कम्प्लेक्समा भएका अन्य कार्यालयले पनि क्षति व्यहोर्न बाध्य हुनु परेको थियो । यस्तै घटना बङ्गलादेशमा पनि भएको थियो, जहाँ त्यहाँको प्रमुख अङ्ग्रेजी पत्रिका द डेली स्टारको कार्यालयलाई लक्षित गरिएको थियो । ठ्याक्कै त्यहि झल्को दिने गरी भारतमा पनि ‘ककरोच जनता पार्टी’ का नाममा सोमबार भएको आन्दोलनका क्रममा देखिएको भारतबाटै प्रकाशित हुने चर्चित मिडियाहरुले उल्लेख गरेका छन् । बीबीसी हिन्दीले पनि मिडियाप्रतिको आक्रोशका बीच रिपोर्टिङका क्रममा केही त्यस्ता पत्रकारहरू समेत निशानामा परेको लेखेका छन् ।

बीबीसी हिन्दीकै समाचार अनुसार विरोध प्रदर्शनमा पत्रकारहरू विरुद्धको आक्रोशको एउटा भिडियो क्लिप रीपोस्ट गर्दै पत्रकार पूनम पाण्डेले ‘एक्स‘ (ट्विटर) मा ‘मिडियासँग रिस वा असन्तुष्टि हुन सक्छ, तर रिपोर्टरलाई लक्षित गर्नु सही होइन। तापिरहेको घाम होस् या वर्षा, ग्राउन्डमा खट्ने रिपोर्टर नै हो। आक्रोश सही ठाउँमा पोखिनुपर्छ।’ भन्दै उल्लेख गरेको लेखेको छ ।
त्यसको जवाफमा प्रमुख अङ्ग्रेजी पत्रिका द हिन्दु की डेपुटी एडिटर विजेता सिंहले ‘टिभीमा घृणा फैलाउने एङ्करहरू, प्रज्यान्टरहरू र वरिष्ठ पत्रकारहरू तथा टिभी रिपोर्टरहरू बीच फरक छुट्ट्याउनु जरूरी छ। टिभी रिपोर्टरहरू मध्ये धेरैजसो निकै मेहनती हुन्छन्।’ भन्दै लेखेकी छिन् । यो विरोधले भारतमा मिडियाहरु समेत असुरक्षित बन्ने खतरा देखिएको छ ।

पछिल्लो दिन भारतको राजधानी दिल्लीको मुटु सेन्ट्रल दिल्लीमा दिनभर हंगामा भएको थियो । जन्तर–मन्तरलगायतका स्थानमा हजारौँ–हजार युवाहरूको भीड जम्मा भएको थियो । धेरै ठाउँमा मेट्रो स्टेसन र सडकहरू बन्द भएका थिए । तर, युवाहरु लाठी र अश्रुग्याँसका गोलासँग जुध्दै बिहानैदेखि साँझसम्म जन्तर–मन्तरलगायतका स्थानमा आन्दोलित भएका थिए ।

शिक्षा व्यवस्थामा सुधार र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राख्दै दिल्लीको जन्तर–मन्तरमा विगत करिब एक महिनादेखि ‘ककरोच जनता पार्टीले आन्दोलन जारी राखेको छ । हिजोको आन्दोलनमा पनि कलेजमा पढ्ने र परीक्षाहरूको तयारी गरिरहेका युवा–विद्यार्थीहरू ठूलो सङ्ख्यामा सडकमा ओर्लिएका थिए ।