२५ बुँदे सम्झौता गलत भएकाले प्रचण्डले संसदलाई जानकारी गराउन लाज मान्नुभयोः पाण्डे

maitrinews

panday
काठमाडौँ । सार्क शिखर सम्मलेनका बारेमा परराष्ट्र मन्त्रालयले फरक–फरक विज्ञप्ति निकालेपछि त्यसको कूटनीतिक क्षेत्रबाट पनि आलोचना सुरु भएको छ । एक हप्तामा चार–पाँच वटा विज्ञप्ति निकालेर विदेश कूटनीतिमा गम्भीर असर गरेको भन्दै पूर्व परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको आलोचना गर्नुभएको छ । उहाँले त्यसले विदेश कूटनीतिमा गम्भीर असर गरेको आरोप लगाउनुभयो । उहाँले प्रचण्ड नेतृत्वको सरकार कुटनीतिमा असफल भएको आरोप समेत लगाउनुभयो । ‘अहिले परराष्ट्र मन्त्रालय विज्ञप्ति मन्त्रालय जस्तो भएको छ,’ युवा संघ नेपालको प्रचार विभागले दसैँ, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै एमाले पोलिट्ब्युरो सदस्यसमेत रहनु भएका युवा संघ इञ्चार्ज पाण्डेले भन्नुभयो ‘सार्क शिखर सम्मलेनका बारेमा एक हप्तामा चार–पाँच वटा विज्ञप्ति निकालेर विदेश कुटनीतिमा गम्भीर असर गरेको छ ।’ उहाँले प्रधानमन्त्री प्रचण्डले दलदलमा नाच्न जान्ने म मात्र हुँ भनेर जथाभावी गरेको भन्दै वर्तमान सरकारका पालामा विदेश कुटनीतिमा गम्भीर असर पर्ने संकेत देखा परेको पनि आरोप लगाउनुभयो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको २५ बुँदे सम्झौता गलत भएको भन्दै उहाँले औपचारिक भ्रमणका क्रममा भएका सम्झौताबारे संसदनलाई लाजले जानकारी नगराएको अरोप लगाउनुभयो । ‘लडेको कुरा सुनाउँन लाज लाग्छ, उठेको कुरा मात्र सुनाउन मञ्जा लाग्छ,’ पाण्डेले प्रचण्डप्रति व्याङ्ग्य गर्दै भन्नुभयो ‘हामीले उहाँको समस्या बुझेका छौँ ।’