इवामुरा अस्पतालको २४सै घन्टा सेवा विस्तार

hospital
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले २४सै घन्टा सेवा विस्तार गरेको छ ।
अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै अस्पतालका निर्देशक रञ्जीत मारिकुले भक्तपुर र ग्रामीण क्षेत्रबाट आउने बिरामीको सेवालाई ध्यानमा राखेर २४सै घन्टा उपचार सेवा विस्तार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो – “अस्पतालले प्रसूति तथा स्त्रीरोगसम्बन्धी सबै उपचार, सामान्य शल्यक्रिया, प्वाल पारेर शल्यक्रिया गर्ने ल्याप्रोसकोपी सेवा, युरोलोजी सेवा, भास्कुलर सेवा, इन्डोस्कोपी सेवा र इमर्जेन्सी सेवालाई २४सै घन्टा सेवा दिने गरी विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेका छौँ ।”

उहाँले भक्तपुरका बिरामीलाई उपचारका लागि अन्यत्र जानु नपर्ने गरी न्यून शुल्कमा सेवा दिने गरी चिकित्सकीय सेवा विस्तार गरेको दाबी गर्नुभयो ।

भक्तपुरमा मुटुरोग विशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने लक्ष्यका साथ विगत पाँच वर्षदेखि मुटु एवम् छाति रोग सेवा सञ्चालन गर्दै आएको यो अस्पतालले अब मुटु र युरोलोजी सेवालाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्ने भएको निर्देशक मारिकुले बताउनुभयो ।

अस्पतालले सेवा विस्तारका क्रममा अत्याधुनिक मेसिन एवम् प्रविधिहरु भित्र्याएर नाक, कान, घाँटी सेवा, छाला रोग र हाडजोर्नी सेवा, इको सेवा, दन्त सेवा, खोप सेवा, बाल रोग सेवा, प्याथोलोजी, ल्याब र एक्स–रे सेवा विस्तार गरेको छ ।

अस्पतालले गरिब बिरामीका लागि निःशुल्क उपचार गर्ने योजनासमेत ल्याएको जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सेवामा छुट तथा गाउँगाउँमा इवामुरा अभियानका रुपमा गाउँगाउँमै गएर सेवा दिने अभियानसमेत ल्याएको जानकारी दिनुभयो ।