राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राख्ने काँग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेस संसदीय कार्य समितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ ।
कार्य समितिको आज बसेको बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेता राधेश्याम अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न जरुरी छ ।”
बैठकमा व्यवस्थापिका–संसदमा प्रस्तुत निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत गर्नुभएको थियो ।
उक्त दलका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि आज दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका–संसद् सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ ।
दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिनुभयो ।
असोज २१ गते ।