कञ्चनपुरमा श्रीमानको कुटपिटबाट ४२ वर्षीया पारु सुनारको मृत्यु

कञ्चनपुर, ३२ असार । कञ्चनपुरको दोधारा चाँदनीमा एक पुरुषले आफ्नै श्रीमतीमाथि निर्घात कुटपिट गरी हत्या गरेका छन् । ४५ वर्षीय रणबहादुर सुनारको प्रहारबाट उनकी ४२ वर्षीया श्रीमती पारु सुनारको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर रावतका अनुसार, बुधबार घटेको उक्त घटनापछि पारुलाई गम्भीर घाइते अवस्थामा दोधारा चाँदनीस्थित नगर अस्पताल पुर्‍याइएको थियो । कुटपिटमा संलग्न श्रीमान् रणबहादुर आफैँ पनि सामान्य घाइते देखिएकाले दुवैलाई अस्पताल लगिएको थियो । तर, टाउको र शरीरका अन्य भागमा लागेको गम्भीर चोटका कारण पारुको बिहीबार मृत्यु भयाे ।

घटना लगत्तै प्रहरीले आरोपित रणबहादुर सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि ‘कर्तव्य ज्यान’ मुद्दा अन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।