अमेरिकी गायक बब डेलनलाई साहित्यतर्फको नोबेल

नर्बे । नोबेल पाउने भनी चर्चामा रहेका आधा दर्जन उपन्यासकार, कवि, कथाकारलाई छक्याउँदै नोबेल कमिटीले ७५ वर्षे अमेरिकी गायक, गीतकार बब डेलनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको छ । अरु साहित्यिक विधाका लेखकले पाउँदै आएको इतिहास तोडै गीततर्फ नोबेल पाउने डेलन पहिलो कलाकाररगीतकार हुन सक्ने आँकलन गरिएको छ । १८ जनाको छनोट टोलीले बिहीबार डेलनको नाम अनुमोदन गरेको थियो ।
अमेरिकी संगीत परम्परामा काव्यिक अभिव्यक्ति भित्र्याएको योगदानस्वरुप डेलनलाई साहित्यतर्फको पुरस्कार दिइएको नोबेल कमिटीको वक्तव्यमा उल्लेख छ । साहित्यतर्फ नोबेल दाबेदारका रुपमा केन्याली लेखक नुगी वा थोङ, अमेरिकी आख्यानकार फिलिप रोथ, जापानी लेखक हारुकी मुराकामी, सिरियाली कवि अनुवादक एडोनिसलाई हेरिएको थियो । नोबल कमिटीको नियमानुसार ‘सर्टलिस्ट’मा को को परेका थिए भनी ५० वर्षपछि मात्रै नाम सार्वजनिक गर्ने परम्परा छ ।
स्कटिस कवि डेलन थोमसबाट प्रभावित डेलनले आफ्नो नाम उनैबाट अनुकरण गरेका थिए । डेलनले लेखेका र गाएका गीतमध्ये ‘ब्लोइङ इन् द विन्ड’, मास्टर्स अफ् वार, अ हार्ड रेन इज् अ गन्ना फल, द टाइम्स दे आर चेन्जिङ, सब्टेरेनियन् होमसिक ब्लुज्, लाइक अ रोलिङ स्टोन लोकप्रिय छन् । तीमध्ये लाइक अ रोलिङ स्टोन सर्वाधिक चर्चित मानिएको छ ।
डेलनका गीत विद्रोह, फरक स्वर र स्वतन्त्रताको प्रतीक मानिन्छन् । मानवता, धर्म, राजनीति र प्रेम उनका मूल स्वर हुन् । आफ्नो देश अमेरिकाले भियतनाममा छेडेको युद्धको विरोधमा उनले धेरै गीत लेखे, गाए ।