भेनेजुयलाका राष्ट्रपति मडुरोलाई हटाउने विपक्षीहरुको प्रयास असफल

maitrinews

venezuela
भेनेजुएला । भेनेजुएलामा विपक्षी नियन्त्रित संसदले राष्ट्रपति निकोलास मडुरोले आफ्नो सरकारको भविष्यबारे हुन लागेको जनमतसंग्रह रोकेर एक किसिमको कु गरेको आरोप लगाएको छ।
अघिल्लो हप्ता विपक्षीहरुले धाँधली गरेको आरोप लगाउँदै भेनेजुएलाको निवार्चन परिषदले जनमतसंग्रह स्थगित गरेको थियो।
निर्वाचन अधिकारीहरुले राष्ट्रपतिलाई पदबाट फिर्ता गर्ने प्रस्ताव रोकिदिएपछि अघिल्लो हप्ताबाटै विपक्षी नेताहरुले ‘राजनीतिक कु’ शब्द प्रयोग गर्न थालेका थिए।अभियानकर्ताहरुले लाखौँ हस्ताक्षर संकलन गरिसकेका थिए र राष्ट्रपति मडुरो हटाउने प्रस्तावमा समर्थन जुटाउन वर्षभरि खटेका उनीहरुमा स्पष्ट निराशा देखिएको थियो।

मडुरोविरुद्ध विपक्षी दलले देशभर हस्ताक्षर संकलन गरेको थियो
होहल्ला बीच चलेको कंग्रेसको सत्रमा सरकारको समर्थन गरिरहेका सांसदहरुले अवरोध गर्न खोजे पनि अधिकांश सांसदले सरकारले संविधान उल्लंघन गरेको र आफ्ना वाचा पूरा नगरेको ठहर गरेका छन्।
सांसदहरुले अन्य नौ प्रस्तावहरुको पक्षमा पनि मतदान गरेका छन् जसमा अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति मडुरोको सरकारलाई समर्थन नदिन भनिएको छ।
साथै जनमतसंग्रह रोक्ने राष्ट्रिय निर्वाचन परिषद र न्यायाधीशहरुलाई हेग स्थित अन्तराष्ट्रिय अदालतमा उभ्याउने उल्लेख गरिएको छ।