अमेरिकी राष्ट्रपतिका उम्मेदवार अन्तिम चुनावी अभियानमा

clinton_trump

अमेरिका । अमेरिकाको राष्ट्रपतीय चुनाव आउन दुईदिन मात्रै बाँकी रहँदा दुवै उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्प मुख्य राज्य फ्लोरिडामा आफ्नो पक्षमा मत जुटाउन लागि परेका छन्।
फ्लोरिडापछि उनीहरुले निर्णायक हुने राज्यहरुमा आफ्नो चुनावी र्याली आयोजना गरिरहेका छन्।
मत सर्वेक्षणहरुका अनुसार मुख्य राज्यहरुमा अझै क्लिन्टन अगाडि हुनुहुन्छ।

रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले अब चुनाव आउन दुई दिनमात्रै बाँकी रहँदा डेमोक्र्याटहरुको बलियो पकड रहेको ठानिएका राज्यहरुमा आफ्नो चुनावी र्यालीलाई केन्द्रित गर्नुभएको छ ।
सन् १९७२ यता रिपब्लिकनले जित्न नसकेका राज्यहरु पेन्सिलभेनिया, मिसिगन र मिनेसोटामा ट्रम्पले आफ्नो भ्रमण केन्द्रित गर्नुभएको छ ।
उहाँले शनिबारबाट चारवटा अनिर्णित राज्यहरुमा आफ्नो चुनावी र्याली थाल्नुभएको छ । जसको शुरुवात उहाँले फ्लोरिडा राज्यबाट गर्नुभयो, जहाँ प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले पनि आफ्नो चुनावी अभियान चलाउनुभएको छ।
ट्रम्पले डेमोक्र्याटहरुको बलियो पकड रहेको मिनेसोटोमा भ्रमण गर्ने योजना गरिरहनुभएको छ जहाँ रिपब्लिकनहरुले ४० वर्ष भन्दा लामो समयदेखि जित्न सकेका छैनन्।